कैलालीमा अविरल वर्षाका कारण सयौँ घर डुबानमा

धनगढी । कैलालीमा शुक्रबार राति परेको अविरल वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् । जिल्लाको भजनी नगरपालिका– ८ स्थित पथरिया नदीको पानीको सतह बढ्न गई दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घरधुरी डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यसैगरी सोही पालिकाको वडा नम्बर–५ स्थित कान्द्रा नदीको पानीको सतह बढ्न गई मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घरधुरीमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

सोही वडाका कुटी गाँउ, वडा नम्बर ७ को शिविर टोल, गणेशमान टोल र दक्षिणपुर्वा टोलका अन्दाजी २५० घरधुरीमा पानी पसेको प्रहरीले जनाएको छ । हालसम्म मानवीय, चौपाया क्षति नभएको र कोही विस्थापित नभएको जनाएइको छ । नदीको सतह बढ्दै गइरहेकोले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया