गौरा पर्वले आफ्नै ऐतिहासिक महत्व बोकेको छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताको संगमस्थल भएको बताएका छन् । शनिबार सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण पर्व गौरा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्व प्रदेशको विशिष्ट पहिचानको रुपमा रहेको र यसले आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व बोकेको छ’, उनले जारी शुभकामना सन्देशमा भनिएको छ । सन्देशमार्फत मुख्यमन्त्री भट्टले गौरा पर्व आपसी समझदारी र बन्धुत्वको भावना जगाई खुशियालीका साथ मनाउनुका साथै प्रदेशवासी भित्र सद्भाव र एकता कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।

जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेशको मौलिक रुपमा मनाइने धार्मिक र सांस्कृतिक महत्व बोकेको गौरा पर्वको अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण प्रदेशबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया