सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता हुने

धनगढी । कैलालीमा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता हुने भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा भदौ १७ गतेदेखि १९ गतेसम्म कैलालीको धनगढीमा महोत्सवको आयोजना गरिने डेउडा प्रतिष्ठानको केन्द्रीय कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

सुदूरपश्चिमको भाषा, कला, साहित्य, संस्कृति, भेषभुषा रहनसहनको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन एवम पछिल्लो पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित तथा पुस्तान्तरण गर्ने उदेश्यले डेउडा प्रतिष्ठानले सुदूरपश्चिम गौरा महोत्सव २०७९ तथा प्रादेशिक डेउडा प्रतियोगिता आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए ।

उनले लोक संस्कृतिको संरक्षणमा यूवाको आकर्षण बढाउन, क्षमतावान श्रष्टाहरुको प्रतिभा प्रबद्र्धन गर्न,प्रतिभालाई स्थान दिन तथा अग्रजको सम्मान गर्ने उदेश्य रहेको बताए ।

महोत्सवमा प्रादेशिक डेउडा प्रतियोगिता गर्ने, ९ वटै जिल्लाका सांस्कृतिक झाँकी, गौरा प्रदर्शन गर्ने, लोक बाजाहरुको प्रदर्शन गरिने, प्रदेशका ९ वटै जिल्लाका कलाकारहरुको लोक नृत्य तथा लोक गायन प्रस्तुति रहने, बाल प्रतिभा प्रवद्र्धन, लोक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज श्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा हुने डेउडा प्रतियोगितामा पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । प्रथमलाई २५ हजार १ सय ११, दोस्रोलाई १७ हजार १ सय ११, तेस्रोलाई ११ हजार १ सय ११ र सान्त्वनालाई ५ हजार १ सय ११ रुपैयाँको पुरस्कार राशि रहेको डेउडा प्रतिष्ठानले जानकारी दिएको छ । महोत्सव धनगढी उपमहानगरपालिकाको मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया