खोटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला ६ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालबालिका विभाग अन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकअप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्री थन्क्याइएको छ । आठ कोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई ‘आइसोलेसन वार्ड’ निर्माण गर्न लागिएको छ ।
पछिल्लो समय जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेसन बनाउने तयारी गरेको छ । गत साउन २५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंको संयोजकत्वमा बसेको जिल्ला कोभिड तथा संकट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले सो कार्यालयको भवनलाई आइसोलेसन बनाउने निर्णय गरेको थियो ।
कोरोनाको संक्रमण बढ्दोरूपमा रहेको र पूर्वतयारी अवस्थामा रहनका लागि आइसोलेसन बनाउन कार्यालयको ताला फोडिएको नगरप्रमुख भट्टराईले जानकारी दिए । प्रयोगविहीन अवस्थामा रहेको कार्यालयलाई त्यत्तिकै छोड्नुभन्दा आइसोलेसन बनाएर प्रयोगमा ल्याउन ताला तोडिएको जनाइएको छ ।
प्रतिक्रिया