भोजपुर । १२ वर्ष बित्यो, चार करोड रुपैयाँ पनि खर्च भइसक्यो तर, भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको पुलले अझै पूर्णता पाउन सकेको छैन । पुल बन्ला र सहज रुपमा नदी पार गर्न सकिएला भन्ने सपना साँचेर बसेको स्थानीयको त्यो सपना अझै लामो समय पूरा हुने छाँट देखिँदैन ।
करिब चार करोड रुपैयाँ खर्च गरेपछि भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ । बाह्र वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो ।
सडक डिभिजन कार्यालय तुम्लिङटारका अनुसार, पुल निर्माणमा हालसम्म तीन करोड ८५ लाख रुपैयाँ खर्च भइसकेको छ । पुल निर्माणको कामलाई चाँडो सम्पन्न गर्न पटक÷पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको जानकारी सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले दिए ।
स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा पुल निर्माण सुरु गरेको थियो । सम्झौता अनुसार पुल २०७० सालमै निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्माणमा ढिलाइ भएको विषयमा जानकारी माग्दा निर्माण कम्पनीका प्रमुख दयाराम लामिछानेले पुल बनाउन नसक्ने लिखित जबाफ दिएपछि ठेक्का रद्द गरिएको शाहले बताए ।
‘हामीले कार्यालयको तर्फबाट गर्न सक्ने काम गरेका हौँ । निर्माण कम्पनीलाई पटक÷पटक काम चाँडो गर्न आग्रह गर्दा पनि काम पुरा गर्न नसक्ने जानकारी दिएको छ,’ उनले भने । पुल निर्माणका क्रममा जग खन्ने ठाउँमा ठूलो चट्टान भेटिएको भन्दै कम्पनीले कामलाई अघि बढाउन नसेकेको बताउँदै आएको थियो ।
ठेक्का रद्द गरेर अहिले कम्पनीको धरौटीबापतको ७७ लाख रुपैयाँ रोकेर कालोसूचीमा राख्नका लागि पत्र पठाएको शाहले बताए । धरौटी नरोक्न तथा कालोसूचीमा नहाल्न कम्पनीले पाटन अदालतमा मुद्दा दायर गरेको पनि शाहले बताए ।
मुद्दा परेपछि काम नगर्न अदालतले आदेश दिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको शाहले जानकारी दिए । ‘हामीले बैंकमा रहेको धरौटी बापतको रकम रोक्का गरेर कालो सूचीमा हाल्ने प्रक्रिया थालेका छौँ,’ उनले भने ।
पुल निर्माणका लागि ६ वटा पिलर उठाइएको भए पनि काम अघि बढ्न सकेको छैन । पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर काठको डुंगाबाट यात्रा गर्न बाध्य छन् । तत्कालीन समयमा सडक डिभिजन कार्यालय धनकुटा र निर्माण कम्पनीबीच सम्झौता भएको भए पनि पछि उक्त पुल सडक डिभिजन कार्यालय तुम्लिङटार मातहात आएको हो ।
पुलको डिजाइनमा समेत त्रुटी रहेको पाइएको छ । सुरुमा एक सय ६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । पछि १२ मिटर बढाएर एक सय ७२ मिटर निर्माण गर्ने गरी काम थालिएको थियो । प्राविधिकले डिजाइन गरेभन्दा पुल करिब ७२ मिटर छोटो रहेको पाइएको छ ।
‘घाटको जम्मा लम्बाइ दुई सय ३४ मिटर छ । सम्झौता एक सय ७२ मिटर लामो बनाउन भएको छ,’ शाहले भने । पुलले भोजपुरको षडानन्द नगरपालिका–६ सतिघाट र संखुवासभाको मनकामनालाई जोड्ने छ । पुल बनाउन संघीय सरकारले २४ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।
प्रतिक्रिया