उपाध्यायकाे एकैदिन तीन गीति एल्बम सार्वजनिक

काठमाडौं । संगीतकार योगेन्द्र उपाध्यायका एकैदिन तीन गीति एल्बम एकसाथ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उपाध्यायका ‘सँगै हिडौँन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ विमोचन गरिएको हो । सार्वजनिक तीनवटै एल्बमलाई डश म्युजिकले उत्पादन तथा वितरण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ, विशिष्ठ अतिथि वरिष्ठ गायिका ज्ञानु राणा, विशेष अतिथि वरिष्ठ संगीतकार राजु सिंह, गायक शिव परियार, वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी, रेडियो नेपालका बोर्ड सदस्य तथा वरिष्ठ संगीतकार टिका भण्डारी, रोयल्टी संकलन समाजका महासचिव बि. पाण्डे, संगीतकार संघका अध्यक्ष पारस मुकारुङ, संगीत उत्पादक संघका अध्यक्ष सूर्य मगर, डश म्युजिकका कार्यकारी निर्देशक तथा वरिष्ठ संगीतकार शंकर थापा ‘स्माइल’, लगायतले एल्वम सार्वजनिक गरे ।

कार्यक्रममासंगीतकार उपाध्यायले आफूले २०७६ सालमै पहिलो एल्बम रिलिजको तयारी गर्दै गर्दा कोभिडका कारण रोकिएको बताए । २०७७ मा अर्को एल्बम तयार गरेर एकसाथ रिलिजको तयारी गर्दा कोभिडको दोस्रो लहर आएकोले सार्वजनिक गर्न नसकेको उनले सुनाए ।

जसका कारण अहिले एकसाथ तीनवटा एल्बम सार्वजनिक गरेको उपाध्यायको भनाइ छ । उनले आफूले सिकेको संगीतका विभिन्न सुरहरुलाई एल्बममार्फत प्रस्तुत गरेको बताए । योगेन्द्रका तिनै एल्बम फरक फरक जनरामा छन् ।

६ वटा गीत समावेश भएको ‘सँगै हिडौंन’ आधुनिक तथा गजल गीतहरुको संग्रह हो भने ७ वटा गीतहरु समावेश भएको ‘काटिमा कुटी’ लोक फ्लेवरका गीतहरु समावेश भएको एल्वम हो । यस्तै ७ वटा गीतहरु समावेश भएको ‘क्लीयरकट’ वेस्टर्न फ्लेवरका गीतहरुको संग्रह हो । सार्वजनिक एल्बमको समिक्षा गर्दै प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले योगेन्द्रको प्रसंसा गरे ।

उनले एउटै संगीतकारले भर्सटायल रुपमा आफूलाई प्रस्तुत गर्न सक्नु र त्यसमा उत्कृष्टता प्रदान गर्नु योगेन्द्रको अब्बल पक्ष रहेको बताए । आफूले तीनवटै एल्बमका गीत सुनेको भन्दै उनले योगेन्द्रलाई अब्बल संगीतकारको सूचिमा राखेको पनि बताए । संगीतका १२ सुर हुने र त्यसलाई सही प्रयोग गर्न रागको ज्ञान हुनुपर्ने भन्दै त्यो योगेन्द्रमा पाएको श्रेष्ठले बताए । योगेन्द्र नेपाली संगीत क्षेत्रको चम्किलो तारा भएको श्रेष्ठको भनाइ थियो ।

यस्तै वरिष्ठ गायिका ज्ञानु राणाले योगेन्द्रले विभिन्न जनराका गीतमा उत्कृष्ट संगीत दिएको बताइन् । उनले आफू योगेन्द्रको स्वरको पहिलेदेखि नै प्रसंसक भएको भन्दै सार्वजनिक एल्बमका गीत सुनेपछि संगीतको पनि प्रसंसक भएको जिकिर गरिन् । यस्तै वरिष्ठ संगीतकार राजु सिंहले योगेन्द्रका गीत सुन्दा उनलाई संगीतका परिपक्क खेलाडीका रुपमा आफूले पाएको बताए ।

यता योगेन्द्रका गीत सुन्दा उत्कृष्ट सृजनालाई मर्न दिनुहुन्न भन्ने सोचका साथ उनका तिनवटै एल्वम उत्पादन तथा वितरणको जिम्मा लिएको डश म्युजिकका कार्यकारी निर्देशक शंकर थापा ‘स्माइल’ले बताए । गायक शिव परियारले पछिल्लो समय एल्बम विमोचनको परिपाटी लगभग हराइसकेको भए पनि योगेन्द्रले त्यसलाई पुर्नजिवित बनाएको बताए ।

रोयल्टी संकलन समाजका महासचिव बि पाण्डेले योगेन्द्र सृजनाका धनी भएको बताए । उनका सृजना आम स्रोताको मन छुने खालका भएको भन्दै त्यसले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरे । डिजिटल लगायत बिभिन्न प्लेटफर्महरुबाट प्राप्त हुने रोयल्टीले अब श्रष्टा बाच्न सक्ने अबस्था आएको भन्दै उनले योगेन्द्रका गीतको रोयल्टीको अधिकार आफ्नो संस्थाले सुरक्षित गर्ने पनि बताए ।

रेडियो नेपालका बोर्ड सदस्य टिका भण्डारीले योगेन्द्र ‘ए’ ग्रेडका संगीतकार भएको भन्दै उनको संगीतकर्म पनि ‘ए’ ग्रेडकै रहेको उल्लेख गरे । २०६८ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका योगेन्द्रले २०७१ सालको राष्ट्रब्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीत तर्फ प्रथम स्थान हासिल गरेका थिए ।

२०७५ सालमा योगेन्द्रलाई रेडियो नेपालले ‘ए’ ग्रेडका संगीतकारको सर्टिफिकेट प्रदान गरेको थियो । गायक, गीतकार तथा संगीतकारहरुलाई रेडियो नेपालले प्रतिष्पर्धाका माध्यमबाट उत्कृष्ट भएकाहरुको मुल्यांकन गरि ग्रेडिङ गर्ने हुँदा योगेन्द्र ‘ए’ ग्रेडका संगीतकार ठूलो उपलब्धी भएको संगीतकार भण्डारीले बताए ।

प्रतिक्रिया