उदयपुर । सप्तकोसी नदीको बाँध फुटेर बाढी गाउँ पस्दा सुनसरी र उदयपुर जिल्लाका दुई स्थानीय तहका सयौँ मानिस बाढीमा फँसेका छन् ।
बुधबार बिहान बाँध फुटेर गाउँमा बाढी पस्दा सुनसरीको बराह क्षेत्र नगरपालिका– र ६ र ९ का २१ सय परिवार र उदयपुरको बेलका नागरपालिका वडा नम्बर १, २, ३, ८ र ९ चार हजार घर परिवार प्रभावित भएका छन् ।
यस्तै बाढीमा फँसेका करिब २४ सय घरधुरीको अझै उद्धार हुन सकेको छैन । बस्तीलाई बाढीले टापुमा परिणत गरिदिएपछि उनीहरुको उद्धार हुन नसकेको हो ।
बाढीमा फँसेकाहरूलाई सशस्त्र प्रहरीको दुई वटा ढुंगाले उद्धार प्रयास गरिरहेको छ । सशस्त्र प्रहरीलाई स्थानीयवासी, सामाजिक संघ संस्था, नेपाल प्रहरी र नेपाली सेनाले उद्धारमा सहयोग गरिरहेको छ ।
स्थानीय प्रशासनका अनुसार बाढी आउने पूर्व सूचना मंगलबार राति नै दिएका कारण क्षति कम भएको हो । प्रशासनल सर्वसाधारणलाई हिजो मंगलबार नै ‘हाइ एलर्ट’ गराएको थियो । प्रशासनको एलर्टपछि कतिपय सर्वसाधारण राति नै उदयपुरको रामपुर आएका थिए ।
बाढीबाट अहिलेसम्म कुनै पनि मानविय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । भौतिक संरचाना क्षति पुगे पनि मानविय क्षति रोक्न सकेको प्रशासनको भनाइ छ ।
प्रशासनका अनुसार सप्तकोसीमा पानीको सतह बढेपछि आवश्यकता ब्यारेजको ढोका नखोल्दा बाँध फुटेको हो । अहिले सप्तकोशीको जम्मा ३४ वटा ढोका खुलेका छन् । पानीको सतहअनुसार कम्तीमा पनि ४२ वटा खुल्ने पर्ने थियो ।
०४५ सालसम्म सप्तकोसी अहिले बाँध फुटेकै ठाउँबाट बग्ने गर्थ्यो । पूर्वी पहाडी भेगमा अझै निरन्तर पानी परिरहेकाले तल्लो भागमा जोखिम घटेको छैन ।
यसैबीच प्रदेश १ का आन्तरिक मामीला मन्त्री केदार कार्की, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।– ईश्वर तामाङ, न्युज कारखाना
प्रतिक्रिया