स्मार्ट लाइसेन्स अब बिराटनगरबाट पनि पाइने

विराटनगर । सबै प्रक्रिया पूरा गरेर लिखित तथा मौखिक परीक्षा पास गर्ने सवारी चालकहरूले अब विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स पाउने भएका छन् ।

सुनसरीको इटहरीस्थित यातायात कार्यालयमा लाइसेन्स वनाउनेहरूको चाप अत्यधिक वढेपछि यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश–१ को पहलमा बिराटनगर–४ स्थित यातायात व्यवस्था सेवा कार्यालयमार्फत स्मार्ट लाइसेन्सदिने गरी व्यवस्था मिलाएको हो ।

स्मार्ट लाइसेन्सका लागि कार्यालयले बुधबार साँझदेखि लाइसेन्स अनुमति पत्रका लागि अनलाइनमार्फत आवेदन फारम खुल्ला गरिसकेको छ । नयाँ लाइसेन्सका लागि मुलकभरका जो कोहीले अनलाइनमार्फत आवेदन फाराम भर्ने व्यवस्था मिलाइएको छ । कार्यालयले सवारीचालक अनुमतिपत्रका लागि ट्रायल परीक्षा लिन बिराटनगरमा भाडामा लिएर ट्रायलसेन्टरसमेत सञ्चालनमा ल्याएको छ ।

विराटनगर आसपासमा सेन्टरका लागि सरकारी खाली जग्गाका लागि पहल गर्दै पनि कहीँकतैबाट त्यस्तो जग्गा नपाएपछि कार्यालयले पत्रिकामा सूचना प्रकाशित गर्दै सवारी ट्रायलका लागि प्रतिस्पर्धाको आधारमा सबै मापदण्ड पूरा गरेको पाथिभरा ड्राइभिङ सेन्टरलाई छनौट गरेको यातायात व्यवस्था सेवा कार्यालय बिराटनगरका प्रमुख अनमोलमणि भट्टराईले बताए ।

पहिलो चरणमा सुरु हुन लागेको परीक्षामा ट्रक बस तथा ठुला सवारी साधनबाहेक मोटरसाइकल, स्कुटर, कार जिप, भ्यान, ट्रयाक्टर तथा सिटी रिक्सागरी लिखित तथा मौखिक परीक्षा पासगर्ने २ सय १५ वटा सवारी धनीले नयाँ सवारी चालक अनुमति पात्र पाउने व्यवस्था मिलाइएको कार्यालय प्रमुख भट्टराईले बताए । प्रदेस सरकार यातयात व्यवस्था तथा संचार मन्त्रालयले बिराटनगरबाट लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ भनेर लागेपछि आफनो कार्यालयले पनि सक्रियता देखाएकाले लाइसेन्स कार्यालय सफल भएको उनको भनाइ छ । प्रत्येक हप्ता लाइसेन्सका लागि परीक्षा लिइने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

आवेदन दिएपछि छनौटमा परेकाहरूले आइतबार खार्जीस्थित कार्यालयमा आउने फर्म भर्ने, फोटो खिचाउने, सोमबार लिखित परीक्षा दिने र बुधबार ट्रायल दिने व्यवस्था मिलाइको छ ।

कार्यालयमा अहिले १२ जना कर्मचारी मात्र कार्यरत छन् । लाइसेन्स दिन सुरु गरेसँगै कर्मचारी अपुग हुने निश्चित छ । यस्तो अवस्थामा दिनरात खटेर भए पनि आपूmहरू सेवा दिन तत्पर रहेको कार्यालय प्रमुखको भनाइ छ ।

लामो सयमपछि बिराटनगरबाट परीक्षा दिएर लाइसेन्स पाउने भएपछि ठूलो राहत भएको सवारी चालकहरू बताउँछन् । कार्यालय प्रमुख भट्टराईले पनि आफनो कार्यकालमा कार्यालयबाट लाइसेन्स सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको र यसलाई थप व्यवस्थित र सहज बनाउँदै जाने बताए ।

प्रतिक्रिया