त्रासमै जीवन बिताउन बाध्य ढुंगाडबासी

बैतडी । बैतडीको सिगास—५ ढुंगाडकी सुनिता शाही चन्दले ढुक्कसँग निदाउन पाएकी छैनन् । एक वर्षअघिको कहालीलाग्दो क्षण उनले अझै भुल्न सकेकी छैनन् । गत वर्ष कात्तिक पहिलो साता भएको वर्षाले सेती नदीको बाढी बस्तीमा पस्यो । बाढीले खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदियो । खेतमा लगाएको बाली क्षणभरमै बगायो । सेतीको उर्लंदो भेल बस्तीमा पसेपछि त्रासको स्थिति सिर्जना भयो । यतिबेला फेरि वर्षा सुरु भएको छ । बस्तीको जोखिम भने अहिले पनि उस्तै छ ।

मनसुन सक्रिय भएपछि सुनितालाई गत बर्षजस्तै यो वर्ष पनि सेती नदी बस्तीमा पसेर बगाइ पो हाल्छ कि भन्ने पिरले सताउन थालेको छ । ‘मनसुन सक्रिय भयो, सेतीमा पानीको बहाब पनि बढिरहेको छ । गत वर्षजस्तै बस्तीमा सेतीको भेल पस्यो भने भाग्ने ठाउँसम्म छैन्’, उनी भन्छिन् ।
वडा कार्यालयको तथ्यांकअनुसार ढुंगाडमा मात्रै ८२ घरपरिवारका पाँच सयभन्दा बढीको बसोबास रहेको छ । ‘एकातिरबाट स्थानीय खोला र अर्काेतर्फ सेतीनदी बग्छ । बीचमा बस्ती छ, त्रासमै जीवन बिताइरहेका छौँ’, अर्का स्थानीय इन्द्र चन्द भन्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थलगत अवलोकन गर्ने क्रममा गत कात्तिकमा ढुंगाडको बस्ती स्थानान्तरण गर्ने वा सुरक्षित तटबन्धन निर्माण गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्रीको आश्वासनपछि स्थानीय पनि आशावादी बनेका थिए । तर, त्यो आश्वासन पनि स्थानीयका लागि मीठो सपनामै सीमित भएको छ ।

गत वर्षको बेमौसमी वर्षाले खेतीयोग्य जमिन बगाए पनि अन्त जाने ठाउँ नभएकाले जोखिम मोलेरै बस्न बाध्य रहेको उनले बताए । बर्सेनि बाढीले दुःख दिन थालेपछि आर्थिक अवस्था राम्रो भएकाहरू बसाइँ सरेर अन्यत्र गइसकेका छन् । आर्थिक अवस्था कमजोर भएकाहरूसँग भने त्रासमै जीवन बिताउनुको विकल्प छैन ।

विगतमा सातपटकसम्म बाढी पसेर खेतीयोग्य जमिन बगरमा परिणत गरिसकेको स्थानीयहरू बताउँछन् । कात्तिकको वर्षाले बस्तीतर्फ पसेको सेती यस वर्षको वर्षाको समयमा पनि सहजै बस्तीमा प्रवेश गर्ने देखिएको वडा अध्यक्ष राजेन्द्र चन्दले बताए ।

‘गाउँतर्फ धेरै कटान भएको छ, थोरै वर्षा भएको अवस्थामा पनि सहजै सेती बस्तीमा प्रवेश गर्छ’, वडाध्यक्ष चन्दले भने । वडा–५ को ढुंगाडसँगै सोही वडाको लोडे, लामबगड, वडा–६ को लेकम र नाकरा पनि बाढीको जोखिममा छ ।

यसैगरी वडा–७ को बोरी पनि बाढी प्रभावित क्षेत्रमा पर्छ । लामबगडमा त स्थानीयको खेतबाटै सेती नदी बगिरहेको छ । बस्ती स्थानान्तरणका लागि पटकपटक माग गर्दा पनि कुनै सुनुवाई नभएको सुनिताले बताइन् । ‘बस्ती स्थानान्तरणका लागि तीनै तहका सरकारको ढोका ढक्ढकायौँ तर, कुनै सुनुवाई नै भएन’, उनले दुःखेसो पोखिन् ।

गाउँपालिका अध्यक्ष हरिसिंह धामी पनि उत्तिकै निरीह देखिन्छन् । उनी बस्तीलाई बाढीको जोखिमबाट जोगाउन पर्याप्त बजेट गाउँपालिकासँग नरहेको बताउँछन् । उनले पालिकाको बजेटले नपुग्ने हुँदा तथ्यांक संकलन गरेर संघीय सरकारलाई पठाएको जानकारी दिए ।

‘स्थानीयले बस्ती स्थानान्तरणको माग गरेका छन् । त्यसका लागि पालिकाको बजेटले भ्याउँदैन’, अध्यक्ष धामीले आफ्नो निरीहता प्रकट गरे, ‘बाढीले क्षति पु¥याएको ठाउँको विवरण संघीय र प्रदेश सरकारलाई पठाइसकेका छौँ तर, अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।’

सरकारले सिगासलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको पनि लामै समय बितिसकेको छ । तर, त्यो कागजमा मात्र सीमित छ । गाउँपालिका अध्यक्ष धामीका अनुसार ३ सय ३२ परिवार प्रभावित भएको विवरण सरकारलाई पठाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थलगत अवलोकन गर्ने क्रममा गत कात्तिकमा ढुंगाडको बस्ती स्थानान्तरण गर्ने वा सुरक्षित तटबन्धन निर्माण गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्रीको आश्वासनपछि स्थानीय पनि आशावादी बनेका थिए । तर, त्यो आश्वासन पनि स्थानीयका लागि मीठो सपनामै सीमित भएको छ ।

‘हाम्रो अवस्था देखेर प्रधानमन्त्रीले बस्ती स्थानान्तरण गर्ने वा सुरक्षित तरिकाले तटबन्ध निर्माण गरिदिने आश्वासन दिनुभएको थियो । तर, त्यो पनि हाम्रा लागि आकाशको फलजस्तै भएको छ’, स्थानीय राम धामीले गुनासो गरे ।

छिट्टै नै ढुंगाडबासीलाई सुरक्षित रहेको अनुभूति दिने आश्वासन दिएका प्रधानमन्त्री देउवाले हालसम्म कुनै योजना नदिएको उनले बताए । यति मात्र होइन प्रदेश सरकारका मुख्यमन्त्री र गृहमन्त्रीले समेत छिट्टै बस्तीलाई सुरक्षित बनाउन तटबन्धन लगाउने आश्वासन दिएका थिए । तर, त्यो पनि अहिलेसम्म आश्वासनमै सीमित छ ।

प्रतिक्रिया