कुलामा पानी नहुँदा रोपाइँमा सकस

टीकापुर । विगतका वर्ष कैलालीका किसान जेठ मध्यतिरबाट खेत रोपाइँ सुरु गर्थे । यस वर्ष किसानलाई असार लागिसक्दा पनि खेत रोपाइँ गर्ने अवसर जुरेको छैन । किसानलाई प्रचण्ड गर्मी त्यसैमाथि, वर्षा नभएका कारण खेती गर्न समस्या भएको हो । अत्यधिक गर्मी र सिँचाइ कुलामा पानी नभएपछि टीकापुरका परमभक्त देवकोटाको खेतमा राखएिको धानको बिउ बिग्रियो । उनले भर्खरै फेरि बिउ छरेका छन् । विगतमा जेठ मध्यतिर खेत रोप्ने उनले असारको पहिलो साता बित्नै लाग्दा पनि बर्सात सुरु नभएपछि रोपाइँ त परै जाओस् बिउसमेत राम्ररी उमार्न सकेका छैनन् । ‘मैले जेठ मध्यतिर राखेको धानको बिउ सुकेर बिग्रियो, बिउ राम्रो नभएपछि फेरि बिउ छरेको छु’, उनले भने, ‘सिँचाइ कुलामा पानी आएको छैन, बोरिङको पानी पर्याप्त भएन । यस वर्ष खेती गर्ने समयमा बिउ छरेका छौँ । खै कस्तो हुन्छ ?’

अर्का किसान वीरबहादुर चौधरीले तीन दिनअघि खेत रोपाइँ सुरु गरे । कुलामा पानी आउने आशा राखेर उनले बोरिङ मोटरबाट खेती रोपाइँ सुरु गरेका थिए, तर अहिले उनकोे रोपाइँ नै बन्द भएको छ । अत्यधिक गर्मीले कुलामा समेत पानी सुकेको र बोरिङ मोटरबाट खेती गर्न सम्भव नभएकाले उनले रोपाइँ नै स्थगित गर्नुपरेको हो । ‘मोटरको सहयोगमा राखिएको बिउ तयार भएको छ । अब ढिलो हुन्छ भनेर रोपाइँ सुरु ग¥यौँ तर पानी अभावमा गर्न सकिएन’, उनले भने, ‘बर्सात नभएका कारण खेत सुक्खा छ । बोरिङको सिँचाइ एकैछिनमा सुक्खा भइसक्छ । वर्षा नभएसम्म खेती गर्न गाह्रो छ ।’

टीकापुरको वनगाउँका किसान चित्रबहादुर चौधरी पनि रोपाइँ सुरु गर्ने तर्खरमा छन् । धानको बेर्ना राखेको महिना दिन पुग्न लाग्दा पनि कुलामा पानी नहुँदा उनले अहिलेसम्म रोपाइँको सुरसार गर्न सकेका छैनन् । किसानले सामान्यतया बेर्ना २१ देखि ३० दिनसम्म खेतमा रोपी सक्ने गर्छन् । कुलामा पानी नहुँदा राखेको ब्याड अहिलेसम्म रोपी सक्नुपर्ने भएता ब्याड छिपिँदै गइरहेको चित्रबहादुरको गुनासो छ । ‘किसानलाई सबैभन्दा बढी समस्या छ । न मल पाइएको छ, न सिँचाइ सुविधा छ’, उनले भने, ‘यस्तो समस्यामा सबैभन्दा बढी पीडा किसानलाई छ ।’

वर्षा नहुँदा र कुलामा पानी नआउँदा किसानलाई धान रोपाइँ गर्न समस्या छ । लामो समयसम्म वर्षा नहँुदा नदी तथा कुलामा पर्याप्त पानी नभएकाले किसान पानीको अभावमा रोपाइँ सकिरहेका छैनन् । किसान मानबहादुर चौधरीले कतिपय किसानले मोटरबाट सिँचाइ गरेर खेती सुरु गरे पनि सम्भव नहुने बताए । ‘सबैतिर नदीमा पानीको सतह कम भएको र मोटरबाट खेतमा पानी लगेर सिँचाइ गर्दा घण्टौ समय लाग्ने गर्छ । यसले किसानलाई थप समस्या भएको छ’, मानबहादुरले भने, ‘बर्सात नहुँदासम्म सिँचाइका लागि बोरिङ मोटरमा पनि राम्ररी पानी नआउने समस्या छ ।’

जिल्लामा ७१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । धानखेती हुने क्षेत्रफलमा सबैतिर सिँचाइ सुविधा हुँदैन । कतै नदी, कुलाबाट सिँचाइ हुन्छ भने कतै बोरिङ, मोटर र आकाशे पानीको भरमा खेती हुन्छ तर यसवर्ष कैलालीमा बर्सात नहुँदा किसानले रोपाइँ सुरु गरी सक्नुपर्ने धान खेत अहिलेसम्म बाँझै छन् । जिल्लाको जानकी गाउँपालिकाका कृषि शाखाप्रमुख लालवीर चौधरीले अत्यधिक गर्मी र मौसममा आएको परिवर्तनका कारण खेतीमा असर गरेको र किसानले मौसम नहेरी छिटो बिउ छर्दा राम्ररी नहुर्केको बताए । ‘किसानले विगतलाई हेरेर बिउ छर्नुभयो, मौसममा आएको परिवर्तनका कारण किसानले राखेको बिउसमेत बिग्रिएको छ’, उनले भने, ‘कुलामा पानी छैन, मोटरको पानीले खेती गर्न सम्भव हुँदैन, बर्सात भएपछि खेती रोपाइँ गर्न सहज हुन्छ, वातावरण प्रतिकूल असरले उत्पादनमा समेत असर पार्छ ।’

प्रतिक्रिया