छात्रवृत्तिदेखि विपन्नको स्वास्थ्य बिमासम्म

जनप्रतिनिधिका निर्णय

दमौली । स्थानीय तह निर्वाचनबाट निर्वाचित तनहुँका १० वटै पालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेर कामको सुरुआत गरेका छन् । पदभार ग्रहणसँगै जनप्रतिनिधिले सर्वसाधारणका लागि हित हुने खालका निर्णय गरेका छन् ।
भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरभित्र सञ्चालित विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका छन् । प्रत्येक वडाका एक छात्र र एक छात्रा गरी १३ वडाका २६ विद्यार्थीलाई वार्षिक ५० हजारका दरले छात्रवृत्ति प्रदान गरिने त्रिपाठीले बताए । प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउन उक्त निर्णय गरिएको नगरप्रमुख त्रिपाठीले जानकारी दिए ।

प्रत्येक वडा समितिले एक छात्र र एक छात्रालाई छात्रवृत्तिका लागि सिफारिस गर्ने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए । सो नगरपालिकामा तीन प्राविधिक शिक्षालय सञ्चालित छन् । भानु–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन मावि, भानु–११ स्थित त्रिभुवन मावि र भानु–४ स्थित भानु संस्कृत माविमा प्राविधिक शिक्षा अध्ययन हुँदै आइरहेको छ । यी विद्यालयमा सिभिल इञ्जिनियरिङ, तीनवर्षे कृषि डिप्लोमा र १८ महिने बाली विज्ञान तथा कृषि विषयको टिएसएलसी सञ्चालनमा छन् ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ज्येष्ठ नागरिक, दीर्घरोगीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन् । उनले गर्भवती महिला, ६० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आकस्मिक बिरामी, दीर्घरोगी, असहाय, अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताए । आवश्यक परेको खण्डमा गाउँपालिका अध्यक्षले प्रयोग गर्ने सवारीसाधनलाई समेत बिरामी बोक्नका लागि प्रयोग गरिने उनले बताए ।

गाउँपालिकासहित सबै वडा कार्यालयलाई सेवामैत्री बनाउन कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई सफा, शुद्ध पानीको व्यवस्था गर्ने, प्रत्येक कार्यालयमा एक कर्मचारीसहितको नागरिक सहायताकक्ष स्थापना गरिने चुमानले जानकारी दिए । चुमानले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, सडक तथा पूर्वाधार, कृषि, खेलकुदलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

म्याग्दे गाउँपालिकाले घरमा निःशुल्क नम्बर प्लेट राख्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै जीआइएसका आधारमा घर नम्बरिङका लागि निःशुल्क नम्बर प्लेट उपलब्ध गराउने निर्णय गरेका हुन । गाउँपालिकाभित्रका घरको विवरण डिजिटल प्रविधिमा रुपान्तरणका लागि घर नक्सा कायम भएका घरलाई एकपटकका लागि नम्बर प्लेट निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

यसैगरी उपाध्यक्ष बालकृष्ण घिमिरेले पदभार ग्रहण गर्दै प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने निर्णय गरे । गाउँपालिकाभित्र हुने झैझगडाका घटना वडास्तरमै मिलाउन मेलमिलाप केन्द्र गठन गरिने घिमिरेले बताए ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानी योजनाको भुक्तानी गाउँपालिकाले व्यहोर्ने निर्णय गरे । गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर, एक धारा’ अभियान सफल बनाउन र सर्वसाधारणलाई राहत दिन उक्त निर्णय गरिएको थापाले बताए । खानेपानी, स्वास्थ्य तथा शिक्षालगायतका आधारभूत आवश्यतालाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विपन्न नगरवासीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेका छन् । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउन बिमा गर्न नसक्ने विपन्न नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने न्यौपानेले निर्णय गरेका छन् । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गत वर्षको अविरल वर्षाका कारण आएको बाढी तथा पहिराबाट क्षति पुगेका घर निर्माण गर्ने निर्णय गरेका छन् । त्यस्तै गाउँपालिकाको वडा–३ र ४ जोड्ने दिउलीखोलामा पक्की पुल निर्माणका लागि आवश्यक व्यवस्था गर्ने निर्णयसमेत श्रेष्ठले गरे ।

प्रतिक्रिया