काठमाडौं । आइतबार मुस्ताङको जेमसोम नजिक पहाडमा विमान दुर्घटना भएको ठाँउमा सुरक्षा टोली पुगेको छ । आइतबार बिहान ६ जनाको संख्यामा सो स्थानमा पुगेको सो टोलीले स्थानीयको सहयोगमा शव संकलन गरिरहेको छ ।
२२ जना सवार दुर्घटनाग्रस्त सो विमानका यात्रुहरुको आधिभन्दा बढीको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको बताइएको छ । दुर्घटनास्थल पैदल हिँडेर जानुपर्ने भएकोले ५६ जनाको टोली थप मद्दतका लागि त्यसतर्फ गएको स्थानीय प्रशासनले जनाएको छ ।
आइतबारदेखि बेपत्ता सो विमान १४ हजार ५०० मिटरभन्दा माथि दुर्घटनामा परेको प्रशासनले जनाएको छ । तारा एयरले एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९एन–एईटी, डीएचसी–६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४,५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ ।’
विज्ञप्तिमा विमान अन्तिमपटक जोमसोम टावरसँग आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानीबाट सम्पर्कमा आएपछि सम्पर्कविहीन भएको थियो ।
प्रतिकूल मौसम तथा जटिल भूगोलका बावजुद पनि नेपाल नागरिक उड्ययन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत आज बिहानैदेखि हवाई तथा स्थलमार्गबाट खोजी गर्दा दुर्घटनास्थल फेला परेको र हाल उद्धार भइरहेको पनि जनाइएको छ ।
प्रतिक्रिया