काठमाडौं । आइतबार बिहानदेखि हराएको तारा एएरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको उक्त विमान सम्पर्कविहीन भएको थियो ।
विमान खोजी तथा उद्धारका लागि पुगेको नेपाली सेनाको टोली सोमबार बिहान विमान दुर्घटनास्थल पुगेको छ । स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको जनाएको छ ।
जहाज मुस्ताङको थासाङ– २ सानोस्वारको पहाडमा क्षतविक्षत अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर जहाज आइतबार बिहानदेखि बेपत्ता भएको थियो । विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए ।
उक्त विमानमा धनुषाका एकैपरिवार सात जना र गोरखाका एकै परिवारका चार जना रहेको बताइएको छ । यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए ।
विमान क्याप्टेन प्रभाकर घिमिरले उडाएका थिए भने चालक दलमा कोपाइलट उत्सव पोखरेल र एअरहोस्टेज किस्मी थापा पनि सवार थिइन् ।
प्रतिक्रिया