सलमान खान नेपाल नआउने भएपछि ‘दबंग टुर’ स्थगित

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएपनि ‘दबंग टुर’ स्थगित भएको छ । ओडिसी इन्टरटेनमेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा जेठ १४ गते शनिबार दशरथ रंगशालामा गर्ने भनिएको उक्त कार्यक्रममा सहभागी हुनेलाई ५ हजारदेखि २५ हजार दरसम्मका टिकट बेचिसकिएको छ । आयोजकले अभिनेता सलमानले मागेजति रकम दिन नसक्ने भएपछि कार्यक्रम स्थगित भएको जनाएको छ । घोषणा गरेको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको हो । उक्त कार्यक्रमको विषयलाई लिएर सलमानका भाइ तथा व्यवस्थापनको जिम्मा लिएका अभिनेता सोहेल खानले नेपाल आइ पत्रकार सम्मेलन गरेका थिए ।

अभिनेता सलमानलाई नेपाल ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेसमेत खटिएका थिए । उनले सलमानसँग भिडियो संवाद गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि छलफल गरेका थिए । यस्तै, सोही कार्यक्रमको तयारीका लागि नेपाल आएका सलमानका भाइ अभिनेता सोहेलसँग मन्त्री आलेले होटल सोल्टीमै पुगेर भेट गरेका थिए । आयोजकले अभिनेता सलमान नेपाल नआउनेबारे अहिलेसम्म केही बोलेको छैन । यो कार्यक्रम ओडिसी इन्टरटेनमेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुन लागेको थियो । सलमानसँगै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, प्रभु देवा, गुरु रन्धावा, मनीष पल र आयुष शर्मा नेपाल आउने भनेर आयोजकले पोस्टरसमेत छापेका थिए ।

यस्तै, अभिनेता सलमान आउने कार्यक्रममा सहभागिताका लागि ५, १०, १५ र २५ हजार दरका टिकट बेचिएको थियो । नेपालमा कोरोना संक्रमण फैलिनुअघि पनि सलमानलाई नेपाल ल्याउन खोजिएको थियो । त्यसबेला आयोजकमध्येकै केही युवा विभिन्न विवादमा मुछिएपछि कार्यक्रम स्थगित भएको थियो । दश वर्षअघि नेपालमा गायक ब्रायन एडम्सलाई ल्याएर भव्य कार्यक्रम गरेको ओडिसीले सलमानलाई नेपाल ल्याउने भन्दै टिकट बेच्न सुरु गरेको थियो । कार्यक्रम स्गथित भएको विषय ओडिसीले विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्ने तयारी रहेको ओडिसी इन्टरटेनमेन्ट निकट स्रोतले जनाएको छ ।

ओडिसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको जनाए । उनले नेपालमा भर्खरै सम्पन्न स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको तथा वर्षाको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएकाले तत्कालका लागि स्थगित गरिएको जानकारी दिए । उनले भने, ‘चुनावको कारण टिकट सोचेअनुसार बिक्री हुन पाएन र पानी पर्ने सिजन पनि सुरु भयो ।’ उनले अनुकूल समयमा कार्यक्रम गर्नेगरी चाँडै नै अर्को मिति घोषणा गरिने जनाए ।

उनका अनुसार कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमै लगभग आठ करोड रुपैयाँ खर्च भइसकेको छ । यस्तै, अभिनेता सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो । जसमा एक दर्जन बढी कलाकारको सांगीतिक प्रस्तुतिसमेत रहेको जनाइएको थियो । ओडिसीका निर्देशक गुरुङले कार्यक्रम स्थगितबारे औपचारिक रुपमै जानकारी दिइने बताए ।

प्रतिक्रिया