काठमाडौंमा एक लाख १३ हजार ३२७ मतगणना

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को मत ४० हजार नाघेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, आइतबार मध्याह्नसम्म एक लाख १३ हजार ३२७ मतगणना भएको छ । अब ७७ हजार ८५९ मत गन्न बाँकी छ ।

अहिलेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार साहले ४० हजार २१२ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिंहले २२ हजार ८६४ मत पाएकी छन् ।

नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन् । उनले २२ हजार ३८७ मत पाएका छन् । काठमाडौंका ३२ वडामध्ये १४ वडाको मतगणना सकिएको छ ।

अहिले आठ वडाको मतगणना भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं. ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना भइरहेको छ। यी वडाको गणना सकिएपछि वडा नं. १४ देखि २२ सम्मका वडाको गणना हुनेछ ।

अहिलेसम्म गणना सम्पन्न १४ मध्ये दुई वडामा मात्रै साहले कम मत पाएका छन् । वडा नंं २७ मा कांग्रेस उम्मेदवार सिंहले र वडा नंं २८ मा एमालेका स्थापितले धेरै मत पाएका थिए ।

वडा नं. २७ मा सिंहले ९८४, स्थापितले ९८१ र साहले ५५२ मत पाएका थिए। त्यस्तै, वडा नं. २८ मा स्थापितले ७४१, साहले ७१७ र सिंहले ७१० मत पाएका थिए ।

प्रतिक्रिया