चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको आरोप लगाएका छन् ।
भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भरतपुरको व्यवस्थित विकास गर्नबाट दाहाल चुकेको समेत बताए ।
‘भरतपुरमा व्यवस्थीत विकासको सुरुवात भएन, महानगर प्रमुख रेणु दाहालले आफैले शिलान्यास गरेर पुरा गरेको परियोजना एउटा पनि छैन, केही परियोजना शिलान्यास भएको छ तर व्यवस्थित छैन,’ सुवेदीले भने ।
भरतपुर क्षेत्रमा एकसाथ विकास गर्नुपर्ने उनले बताए । बसोबास बढ्दै जाँदा भरतपुर टुक्रिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । व्यवस्थित योजनाबिना विकास अघि बढाउँदा भोलिका दिनमा काठमाडौंले भोगेको नियती भरतपुरले भोग्नुपर्ने उनले बताए ।
‘अब हामीले ५० वर्ष पछिको सोचेर भरतपुरको व्यवस्थित विकास गर्नुपर्छ, भरतपुरलाई सुरक्षित सहर बनाउनु पर्छ, नेपालको नमुना सहर बनाउन सकिन्छ,’ उनले भने । आफूले जिते भरतपुरवासीले गौरव गर्न लायक भरतपुर बनाउने दाबी उनले गरे ।
प्रतिक्रिया