राजधानी काठमाडौंको चुनावले यसै पनि देशभर माहौल तताउने गथ्र्यो, तर यसपटक भने पुर्वानुमान लगाउनै नसकिने गरी काठमाडौं महानगरपालिकाको चुनावी दाउपेच सुरु भएको छ । काठमाडौं भनेको प्रायःजसो अप्रत्यासित मत परिणाम आउने ठाउँ हो । ०१५ सालको आमनिर्वाचनदेखि नै काठमाडौंको चुनावी परिणाम अप्रत्यासित आउने गरेको उदाहरण छ । ०१५ सालको आमनिर्वाचनमा काठमाडौंमा गणेशमान सिंह र पुष्पलाल श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । पुरै माहौल पुष्पलालको पक्षमा थियो । मतदान सकिए पछि निराश बनेका गणेशमान सिंह बनेपा गएर बसेका थिए, तर मतगणना हुँदै गर्दा गणेशमानले भारी मतले जिते, बनेपाबाटै विजय जुलस लिएर काठमाडौं आए । ०३८ सालको आमनिर्वाचनमा नानीमैया दाहालले भारी मत अन्तरले चुनाव जित्ने कल्पना नै गरिएको थिएन । ०४३ सालको आमनिर्वाचनमा जोगमेयरको पराजय र पद्मरत्न तुलाधरको विजयलाई कसैले पनि पूर्वानुमान गरेका थिएनन् । ०४४ सालको स्थानीय निर्वाचनमा हरिबोल भट्टराईको जित पनि अप्रत्यासित थियो ।
०४८ सालको आमनिर्वाचनमा कृष्णप्रसाद भट्टराई र मंगलादेवी सिंहले चुनाव हार्लान् भन्ने अनुमान धेरैले गरेका थिएनन् । ०६४ सालको आमनिर्वाचनमा माधवकुमार नेपालले हारेर झक्कुप्रसाद सुवेदीले चुनाव जित्लान्, विद्यादेवी भण्डारीले हारेर सुप्रभा घिमिरेले चुनाव जित्लिन् भन्ने आँकलन पनि थोरैको थियो । ०७० सालको आमनिर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट चुनाव हार्लान् भन्ने अनुमान पनि धेरैले गरेका थिएनन् । गत स्थानीय निर्वाचनमा कांग्रेस उम्मेदवार राजुराज जोशीको यति विधि कन्तविजोग होला, किशोरी रन्जु दर्शनाले त्यति धेरै मत ल्याउलिन् भन्ने आँकलन पनि धेरैले गरेका थिएनन् ।
०७४ सालमा सम्पन्न स्थानीय तथा आमचुनावको मत हेर्ने हो भने आसन्न निर्वाचनमा काठमाडौंमा मुख्य प्रतिस्पर्धा हुने भनेको कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र एमालेका उम्मेदवार केशव स्थापितबीच नै हो । गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा कांग्रेसको भोट ६३ हजार र एमालेको भोट ७३ हजार देखिएको थियो भने माओवादीको भोट १० हजार देखिएको थियो । गत आमनिर्वाचनमा समानुपातिकतर्फ कांग्रेसको भोट ७५ हजार, एमालेको भोट ७२ हजार, माओवादीको भोट आठ हजार, राप्रपाको भोट ११ हजार, विवेकशील साझा पार्टीको भोट १४ हजार देखिएको थियो । यो हिसाबले हेर्ने हो भने आसन्न स्थानीय निर्वाचनमा कांग्रेसकी सिर्जना सिंहको जित निश्चित छ । किनकी एमाले विभाजित भएर बनेको एकीकृत समाजवादी र माओवादी केन्द्रसँग कांग्रेसले तालमेल गरेको छ ।
तर गत स्थानीय निर्वाचनमा रञ्जु दर्शना र किशोर थापाले प्राप्त गरेको ४१ हजार र नो भोट अर्थात जानी जानी रद्द गरिदिएको २९ हजार भोट जोड्दा ७० हजार भोट हुन्छ । यो ७० हजार भोट नै निर्णायक हो । यो ७० हजार भोट एक ढिक्का भएर बालेन शाहको पक्षमा गइदियो भने काठमाडौंको चुनावी परिणाम अप्रात्यसित हुन सक्छ । यतिबेला सम्मको अवस्था हेर्दा मुख्य प्रतिस्पर्धी भनिएका नेपाली कांग्रेस र एमालेलाई स्वतन्त्र उम्मेदवार बालेन साहले चुनौती दिएका छन् । राप्रपाप्रतिको आकर्षण पनि निकै बढेको देखिएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह शालिन प्रचारमा छिन् । सिर्जनाको शालिनतालाई काठमाडौंको रैथाने समुदायले मन पराएको देखिएको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापित प्रतिस्पर्धीलाई खुइल्याउन लागि रहेका छन्, तर स्थापित माथिको आक्रमण पनि कमजोर छैन । स्वतन्त्र उम्मेदवार बालेन साहको पक्षमा मारबाढी समुदायले केही मिडियाहरूलाई नै प्रायोजित गरिदिएको समाचार पनि आएका छन् । गत निर्वाचनमा धेरै नै चर्चा बटुलेको साझा विवेकशील पार्टीका उम्मेदवारहरूले यसपटक मिडिया तथा सामाजिक सञ्जाल तताउन सकेका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि राजधानी काठमाडौंको चौथो ठूलो शक्ति हो, सामाजिक सञ्जाल तथा चिया पसलहरूमा राप्रपाप्रति पनि सहानुभूति देखिएको छ, तर राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले जनताको सहानुभूतिलाई माहौलमा बदल्न सकिरहेका छैनन् । राप्रपाले जुझारु युवालाई अघि सार्न सकेको भए यसपटकको चुनावी भिडन्त निकै रोचक हुने अनुमान विश्लेषकहरूको छ । कांग्रेस र एमालेका उम्मेदवार सरह नै चर्चामा रहेका स्वतन्त्र उम्मेदवार बालेन साहले जुन प्रकारको सहानुभूति पाएका छन् त्यो अनुसारको बौद्धिक क्षमता प्रस्तुत गर्न सकिरहेका छैनन् । दलहरूसँग असन्तुष्ट भएका जमातको सबै मत आफ्नो पक्षमा सुरक्षित गर्ने चुनौती बालेनलाई छ । काठमाडौं महानगरपालिकाको खास समस्या के हो ? भन्ने मामिलामा बालेन अनभिज्ञ हुन् कि जस्तो देखिएको छ ।
बालेन साहको चर्चा यतिबेला मुलुकभित्र मात्रै छैन । विश्वमा जहाँजहाँ नेपालीहरू रहेका छन्, त्यहाँत्यहाँसम्म बालेनको चर्चा छ । संसारभरी छरिएर रहेका नेपाली युवाहरूले सामाजिक सञ्जालमार्फत बालेनका लागि भोट मागेका छन् । दार्चुलादेखि झापासम्म र ताप्लेजुङदेखि कञ्चनपुरसम्म बालेनको चर्चा छ । समाजिक सञ्जाल तथा केही मिडियाहरूलाई आधार मान्ने हो भने बालेनले कांग्रेस र एमालेलाई चुनौती दिइसकेका छन् । तर काठमाडौं महानगरपालिका भित्रका तीन लाख मतदाताहरूको मुड के कस्तो हुन्छ भन्ने विषयमा यसै भन्न सकिन्न । बालेनको पक्षमा सामाजिक संजाल तथा मिडिया तताउने मध्ये पाँच प्रतिशत मात्रै काठमाडौं महानगरका मतदाता रहेछन् भने पनि कांग्रेस र एमालेका लागि सानो चुनौती हुने छैन । विगतमा पनि कहिले नानीमैया दाहाल र कहिले रञ्जु दर्शनाले काठमाडौंको चुनावी परिणामलाई ज्यादै रोचक र घोचक बनाइदिएका उदाहरण छन् ।
०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा काठमाडौंबाट पद्मरत्न तुलाधरले चुनाव जितेपछि मिडियाहरूले प्रतिबन्धित नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको प्रतिक्रिया मागे । भट्टराईले मिडियाहरूलाई आफ्नै निवासमा बोलाएर एक वाक्यको मात्रै प्रतिक्रिया दिए । उनको प्रतिक्रिया थियो, ‘पद्मरत्नको विजय नानीमैया दाहालको लिंग परिवर्तन हो ।’ त्यतिबेला सन्त नेता भट्टराईले भने जस्तै यतिबेला नानीमैया दाहाल र रन्जु दर्शनाको जस्तै चर्चा बालेनले पाएका छन् । तर लैंगिक हिसाबले मात्रै होइन सामुदायिक हिसाबले पनि बालेन पृथक हुन् ।
काठमाडौंको मुख्य समस्या बेइमानी
राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको वार्षिक बजेट निकै ठूलो हुने गर्छ । बजेट खर्च गर्न नसकेर बैंकमा ब्याज लगाउने गरिएको छ । तर महानगरवासीका समस्या ज्यूँकात्यूँ छन् । काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक यातायात निकै कहालीलाग्दो छ । बुढाबूढी, गर्भवती, केटाकेटी तथा अपांग भएकाहरू सार्वजनिक यातायातका साधनमा चढ्न सक्ने अवस्था छैन । बजार क्षेत्र हेर्ने हो भने उपभोक्ताहरू सबैभन्दा बढी ठगिने काठमाडौं महानगरपालिका भित्रै हो । शिक्षा क्षेत्र हेर्ने हो भने काठमाडौं महानगरपालिकाका सरकारी विद्यालयहरू रित्ता छन्, निजी विद्यालयहरूले ब्रह्मलुट गरेका छन् । फोहोरमैला र खानेपानीको समस्यालाई हेर्ने हो भने यस्तो जटिलता विश्वमा सायदै होला ।
स्वास्थ्य क्षेत्रलाई हेर्ने हो भने वीर अस्पतालको दुर्दशा हेरे पुग्छ । वीर अस्पतालमा चार जना स्वयंसेवक खटाइदिने हो भने पुग्छ । काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक शौचालयहरू नगन्य छन्, भएका पनि प्रयोग गर्नै नसकिने गरी दुर्गन्धित छन् । सडकका खाल्डाखुल्डी तथा जतासुकै छिरोलिएका तारहरूले सहर कुरूप देखिन्छ । आखिर वार्षिक २० अर्ब रुपैयाँ बजेट काठमाडौं महानगरपालिकाले कहाँ खर्च गर्छ ? भन्ने प्रश्न कम्ति कहालीलाग्दो छैन । किनकी अहिलेसम्म काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालय भवन बनाएको छैन, न त वडा कार्यालय भवनहरू नै व्यवस्थित छन् । आखिर कसको नालायकीले भयो काठमाडौंको यस्तो दुर्दशा ?
किनकी काठमाडौं महानगरपालिकाका केही धरातलीय यथार्थताहरू विचित्रका छन् । यस्ता विचित्रताहरू उम्मेदवारले थाहा नपाएका हुन् या बुझ पचाएका हुन् भन्ने प्रश्न गम्भीर छ । किनकी काठमाडौं उपत्यका भित्रका पालिकाहरूको सिमांकन तथा संरचनामा भएका त्रुटीका कारण काठमाडौं महानगरपालिकाले मात्रै समस्या समाधान गर्न सक्ने संभावना छैन । तर, यो त्रुटी सच्याउनु पर्ने मुद्दा कुनै पनि उम्मेदवारले बनाएका छैनन् ।
पहिलो कुरा त काठमाडौंको प्राचीन सहर जसलाई कोर एरिया भन्ने गरिन्छ । यो कोर एरियामा वडा–१७ देखि वडा–२८ सम्मका ११ वडा पर्दछन् । तर, यी ११ वटा वडाको जनसंख्या ५० हजारभन्दा बढी छैन । क्षेत्रफल पनि चार वर्ग किलोमिटरभन्दा माथि छैन । तर वडा–१६ एउटैको जनसंख्या ८० हजारभन्दा माथि छ । क्षेत्रफल पनि ६ वर्गाकिलोमिटरभन्दा माथि छ ।
कोर एरियाका १० वटा वडाको कुल क्षेत्रफल र जनसंख्याभन्दा छेउछाउका एउटै वडाको जनसंख्या र क्षेत्रफल दोब्बर हुनेगरी किन र कसरी सिमांकन गरियो ? यो प्रश्नको उत्तर थाहा नपाउनेहरू काडमाडौंको मेयरपदका उम्मेदवार छन् । काठमाडौंको वडा–१६, वडा–३२, वडा–२९, वडा–१४, वडा–१५ ले सरदर ६० हजार जनसंख्या बराबर पाँच जना प्रतिनिधि महानगरपालिकामा पठाउँछन् । तर कोर एरियाका ११ वटा वडाले पाँच हजार जनसंख्या बराबर पाँच जना प्रतिनिधि पठाउँछन् । अझै सजिलो भाषामा भन्नुपर्दा कोर एरियाका ५० हजार जनताले महानगरपालिकामा ५५ जना प्रतिनिधि पठाउँछन्, तर वडा–१६ का ८० हजार जनताले महानगरपालिकामा जम्मा पाँच जना प्रतिनिधि पठाउँछन् ।
यस्तो असमान तथा अन्यायपूर्ण प्रतिनिधित्वको सिद्धान्त विश्वमा कहीँ पनि अपनाइएको छैन । यस्तो अवस्थामा कुनै पनि मेयरले स्रोत साधनको न्यायोचित प्रयोग तथा वितरण गर्न सक्ने संभावना रहन्न । नगर यातायातकै कुरा गर्ने हो भने यस्तो कुनै रुट छैन जो काठमाडौं महानगरपालिका भित्र मात्रै परोस् । उपत्यका भित्रका सबै पालिकाहरू एक ठाउँमा उभिएर नीति नबनाएसम्म यातायातको समस्या समाधान संभव छैन । शिक्षा तथा स्वास्थ्यका समस्या समाधानका लागि पनि उपत्यका भित्रका अन्यपालिकासँग नमिली काठमाडौं महानगरपालिकालाई धरै छैन । चाहे फोहोर विसर्जनको मामिला होस् या खानेपानीको मामिला होस् काठमाडौं महानगरपालिका आपैmँले समस्या समाधान गर्न सक्ने संभावना छैन । काठमाडौं महानगरपालिकाको संरचना तथा सिमांकनलाई यथावत राख्ने हो भने बजेट तथा स्रोत साधनको दुरुपयोगबाहेक केही हुँदैन ।
भक्तपुर नगरपालिकाजस्तै काठमाडौंको पनि प्राचीन सहर रहेको कोर एरियालाई छुट्टै सानो र चिटिक्क परेको नगरपालिका नबनाएसम्म समस्या जस्ताको तस्तै रहने देखिन्छ । कोर एरियाबाहेक उपत्यकाको बाँकी सबै क्षेत्रलाई समेटेर भारतको दिल्लीजस्तै प्रदेशकै हैसियतको इकाइ बनाउनुबाहेक अर्को विकल्प छैन भन्ने यथार्थतालाई उम्मेदवारहरूले समेत बुझेको देखिन्न ।
कांग्रेस र एमालेकै लेखाजोखा
कुनै चमत्कार भएन भने काठमाडौं महानगरपालिकाको आसन्न निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र एमालेका उम्मेदवार केशव स्थापितबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन धेरैको छ । यो आँकलन नौलो पनि होइन । किनकी काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या करिब २० हजारको हाराहारीमा छ । नेकपा एमालेको पूर्णकालीन सदस्य संख्या पनि करिब २० हजारकै हाराहारीमा छ ।
२० हजार क्रियाशील सदस्यता हुनु भनेको कम्तिमा पनि ६० हजार मत हो । करिब ७० हजार मत भए चुनाज जित्ने अवस्था रहन्छ । गत स्थानीय निर्वाचनमा एमालेको भोट ७३ हजार र नेपाली कांग्रेसको भोट ६३ हजार रहेको वडा तहको मत परिणमले पुष्टि गरेको थियो । यसैगरी माओवादी केन्द्रको भोट १० हजार रहेको पनि वडा तहको मत परिणमले पुष्टि गरेको थियो ।
यसपटक एमाले विभाजित भएको छ । माओवादी केन्द्रले कांग्रेसलाई साथ दिएको छ । जनता समाजवादी पार्टी र एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीले पनि नेपाली कांग्रेसलाई साथ दिएका छन् । यसरी हेर्दा कांग्रेस नेतृत्वको गठवन्धन एमालेभन्दा करिब १० हजार मतले बलियो भएको आँकलन गर्न सकिन्छ । तर यो आँकलन नजरअन्दाज मात्रै हो । किनकी गत स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरूले कुल ६३ हजार भोट ल्याए, उपमेयरकी उम्मेदरवार हरिप्रभा खड्गीले ५८ हजार भोट ल्याइन्, तर मेयर पदका उम्मेदवार राजुराज जोशीले भने जम्मा ४५ हजार भोट ल्याए । आखिर मेयर पदमा कहाँ गए त नेपाली कांग्रेसका १८ हजार भोट ? त्यसैले कांग्रेसका उम्मेदवार सिंह र एमाले उम्मेदवार स्थापित मध्ये कसले बाजी मर्ला ? भन्ने आँकलन गर्दै गर्दा स्वतन्त्र तथा साना पार्टीका उम्मेदवारहरूले कसको भोट बढी काट्लान ? भन्ने विश्लेषण गर्नुपर्ने हुन्छ ।
आफ्नो पार्टी तथा तालमेलमा सामेल अन्य पार्टीहरूको पूरै मत आफ्नो पोल्टामा पार्न नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई निकै चुनौती छ । त्यसो त एमाले उम्मेदवार केशव स्थापितलाई पनि पार्टीका सबै मत आफ्नो पक्षमा पार्न कम्ती चुनौती छैन । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको आफ्नै राजनीतिक पृष्ठभूमि छ, ०४८ सालमै टिकट पाएर पटकपटक मन्त्री भइसक्नुपर्ने राजनीतिक पृष्ठभूमिकी नेतृ हुन्, सिर्जना सिंह । तर, नयाँ पुस्ता सिर्जनाको यो पृष्ठभूमिबारे जानकार छैन ।
नेपाली कांग्रेसकी माथिल्लो स्तरकी नेतृका रूपमा भन्दा पनि गणेशमान सिंहकी बुहारी र प्रकाशमान सिंहकी श्रीमतीको रूपमा सिर्जनाको पहिचान स्थापित भएको छ । यही पहिचानका कारण उनले परिवारवादको आरोप खेपिरहेकी छन् । अर्कोतिर कांग्रेसभित्रै र तालमेलमा सामेल अन्यदलले अन्तरघात गरिदिने संभावना पनि छ ।
यसैगरी साझा विवेकशील पार्टीले मेयर पदमा उम्मेदवार बनाएकी समिक्षा बाँस्कोटा पनि नेविसंघकी क्याडर हुन् । कांग्रेसका पुराना निष्ठावान नेता दीपक प्रकाश बाँस्कोटाकी छोरी समिक्षाले सिर्जना सिंहको भोट बैंकलाई केही न केही असर पु¥याउने संभावना छ । यता नेपाली कांग्रेसबाट विभाजित भई बनेको नेपाली कांग्रेस बिपीले पनि मेयर, उपमेयरलगायत काडमाडौं महानगरपालिकाका धेरैजसो वडामा उम्मेदवार उठाएको छ । नेपाली कांग्रेस बिपीका मेयर पदका उम्मेदवार भक्तराज भुसालले पनि काट्ने भनेको सिर्जना सिंहकै भोट हो ।
त्यसो त स्वतन्त्र उम्मेदवार बालेन साहले पनि सिर्जना सिंहको भोट बैंकमा निकै असर पार्ने संभावना छ । किनकी काडमाडौं महानगरपालिकाभित्र मधेसी समुदायको भोट करिब तीन हजार छ । त्यो भोट विगतमा नेपाली कांग्रेसले एकलौटी पाउँदै गरेको थियो, तर, यसपटक बालेनले पाउने संभावना छ ।
त्यसो त एमालेका उम्मेदवार स्थापितलाई पनि सहज छैन । पहिलो कुरा त एमाले विभाजित भएका कारण पार्टीगत भोट केही घटेको छ । दोस्रो कुरा धेरै पार्टी चहारीसकेको व्यक्तिलाई टिकट दिइएको भन्दै एमालेभित्रै चर्को असन्तुष्टि छ । ०५४ साल यता नेकपा एमालेबाट माले, राजावादी, माओवादी, प्रजापरिषद् हुँदै स्थापितले चार पाँच वटा पार्टी चहारीसकेका छन् । यसैगरी स्थापितमाथि भ्रष्टाचार गर्ने गरेको, महिलामाथि यौन दुव्र्यवहार गर्ने गरेको, हावादारी गफ गर्ने गरेको, गाँजा सेवनको खुलेआम वकालत गर्ने गरेको लगायतका आरोप छन् । छिटोे निर्णय लिन सक्ने गुणको विषयमा भने स्थापितको प्रशंसा हुने गरेको छ ।
भन्न त, चुनाव निष्ठा, विचार र सिद्धान्तप्रेरित हुनुपर्छ भनिन्छ । तर स्थानीय चुनावकै उम्मेदवारीका दृश्य हेर्दा सिद्धान्त, आदर्श, मूल्य–मान्यताजस्ता शब्द राजनीतिबाट लोप भएको आभास हुँदै छ । को सक्षम, को योग्य होइन कि नेताहरूले आफ्नै मानिस र आफ्नै गुटका मानिसलाई प्रोत्साहित गर्न कुनै कसर छाडेका छैनन् ।
एकपछि अर्काे चुनाव ‘जसरी पनि जित्ने’ प्रवृत्तिबाट निर्देशित हुँदै छ । त्यस निम्ति ‘पैसा’ भएका र ‘शक्ति’ खेलाउन सक्ने पात्रहरू खोजिँदै छ ।
कुनै पनि दलले सिद्धान्त र निष्ठासहितका सुपात्र या सत्पात्र खोजिएको आभास हुँदैन । हरेक राजनीतिक दल निष्ठा, सिद्धान्त र आदर्शबाट निकै टाढा पुगेका छन् । जो, जसरी, जहाँबाट भए पनि खराब उम्मेदवार हुन् भने तिनलाई किनारा लगाउने दायित्व मतदाताको पनि हो ।
दलीय कार्यकर्ताहरू त्यो हदमा उत्रन नसक्लान्, तर मतदातालाई चाहिँ विवेक पु¥याउन सक्छन् । के बुझ्नुपर्छ भने नैतिकहीन, आदर्शहीन, सिद्धान्तहीन, भ्रष्ट र खराब–बेइमान पात्रहरू कहिल्यै ‘असल’ हुँदैनन्, अपवादबाहेक । स्थानीय तहका मतदाताहरू, जसले त्यस्ता पात्रहरू नजिकैबाट नियालेकै हुन्छन् । यदि स्थानीय तहमा स्वच्छ र स्वस्थ सरकारको चाहना राख्ने हो भने खराब पात्रहरूलाई मतबाटै किनारा लगाउनुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै खराब पात्रहरू मतकै माध्यमद्वारा किनारा लगाउनु हो ।
प्रतिक्रिया