मानवीय दृष्टिले स्वास्थ्य क्षेत्रलाई अति संवेदनशील क्षेत्र मानिन्छ । मानव स्वासथ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले औषधालय, अस्पताल, क्लिनिक र एम्बुलेन्सजस्ता सेवा युद्धमैदानमा पनि सहज रूपमा सञ्चालन गर्न दिने परिपाटी कायम गरिएको छ । तर, नेपालमा भने स्वास्थ्यसँग सम्बन्धित क्षेत्र जहिले पनि संघर्षको केन्द्रबिन्दु बन्ने गरेको पाइन्छ । पाटन अस्पताल, महाराजगन्ज शिक्षण अस्पताल, पोखरा मेडिकल कलेजलगायत स्वास्थ्य संस्थामा एक खालको आन्दोलन निरन्तर चलिरहेको छ । कहिले बाहिरियाको आक्रमणमा परेर त कहिले भित्रियाको मनपरी रोक्न भनेर स्वास्थ्य संस्था बन्द गर्ने गरिएका छन् । यो निन्दनीय र गैरजिम्मेवार कार्यले निरन्तरता पाइरहेको अवस्था छ । यसै मेसोमा अहिले आएर स्वास्थ्य विभागको कामकाज नै ठप्प हुने गरी तालाबन्दी गरिएको छ । अर्थात् प्राय: सबै स्वास्थ्य संस्थामा राजनीतिक जालो, भ्रष्टाचार, आफन्त पोस्ने काम, कर्मचारी युनियनको दादागिरी र गैरजिम्मेवारीपन भित्रिएको छ । जसले गर्दा मानवीय स्वास्थ्यका हिसाबले अति संवेदनशील मानिएका क्षेत्रसमेत तनावग्रस्त बन्न पुगेका छन् । स्वास्थ्यमन्त्री र स्वास्थ्य विभागका महानिर्देशक डा. मिङमार शेर्पाले तिहारको बिदा पारेर पाँच सय ९७ जना कर्मचारी सरुवा गरेपछि अहिले स्वास्थ्य विभागको कामकाज ठप्प हुन पुगेको हो । नेपालभरि औषधी आपूर्ति गर्ने, अञ्चल अस्पताल, जिल्ला अस्पताललगायत अन्य औषधालयसमेत रेखदेख र अनुगमन गर्ने विभागमै तालाबन्दी हुनु सामान्य विषय होइन । जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्ता संस्था क्ुनै हालतमा बन्द नहुनुपर्ने हो । तर, स्वास्थ्यमन्त्री राजेन्द्र महतो र महानिर्देशक डा. मिङमार शेर्पाले कार्यालय बिदा भएका समयमा कर्मचारी सरुवा गरेर विभाग नै बन्द गराउने काम गरे । यस्तो कार्य किन गरियो ? सरकार मौन छ । बिदाका समयमा सरुवा गर्नुपर्ने बाध्यता किन पर्यो ? स्वास्थ्य सेवा नियमावली २०६९ अनुसार कात्तिक मसान्तभित्र मातहतका कर्मचारी सरुवा गर्न पाउने अधिकार महानिर्देशकसँग सुरक्षित छ । तर, डा. शेर्पाले बिदाको समय पारेर मन्त्री र आफ्ना लागि शुभलाभ प्राप्त गरेको भन्ने सम्बद्ध कर्मचारी युनियनले आरोप लगाएका छन् । वास्तवमा डा. मिङमारलाई वरिष्ठताक्रम मिचेर स्वास्थ्यमन्त्रीले महानिर्देशक बनाएदेखि नै स्वास्थ्य विभागमा एक खालको आतंक प्रवेश गरेका समाचार बाहिर आएका थिए । यसबीचमा स्वास्थ्य विभागमा थुप्रै चलखेल भएका आवाज पनि नउठेका होइनन् । अहिले पनि बिदाको समय पारेर भाइटीकाका दिन विभागको आधिकारिक वेबसाइटमा सरुवाको सूची राखेको कर्मचारी युनियनका अधिकारीको आरोप छ । यदि महानिर्देशक डा. शेर्पाले बिदाको समयमा सरुवा गरेर अधिकारिक वेबसाइटमा भाइटीकाका दिन राखेको हो भने उक्त सरुवा बदर हुनैपर्छ । यदि उनको मन सफा भए कार्यालय खुलेकै समयमा आफू मातहतका कर्मचारी सरुवा गर्न सक्छन् । अन्यथा, उनले गरेको कार्य स्वीकार गर्नैपर्छ भन्ने बाध्यात्मक अवस्था रहँदैन ।
गत आइतबार विभागको काम ठप्प भयो । बिदाको समयमा कर्मचारी सरुवा गरेको विषयलाई लिएर कर्मचारी युनियनहरूले गत कात्तिक २७ गतेदेखि नै तालाबन्दी गरेका थिए । यही तालाबन्दी खुलाउन आइतबार कर्मचारी सम्बद्ध सातवटा युनियन र महानिर्देशकबीच वार्ता भए पनि वार्ता सफल भएन । कर्मचारी युनियनले डा. शेर्पाले झुठो बोलेकाले वार्ता असफल भएको आरोप लगाएका छन् । युनियनहरूले महानिर्देशकले माफी मागी सम्पूर्ण सरुवा खारेज गर्नुपर्ने माग राखेका छन् । यदि दुवै पक्ष आआफ्नै अडानमा कायम रहने हो भने तालाबन्दी निकै लामो समयमसम्म रहने देखिन्छ । यो कार्य सेवाग्राहीका लागि घातकसिद्ध हुनसक्छ । मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा समेत नकारात्मक प्रभाव पर्ने गरी कार्य गर्नु/गराउनु आपैँmमा लज्जाबोध हुनुपर्ने विषय हो । कहाँबाट त्रुटि भयो ? हुनुपर्ने के हो ? सबै विषय र पक्षमा स्पष्ट भएर सरकारले यस्ता असहज परिस्थितिबाट स्वास्थ्य संस्थाहरूलाई मुक्त गर्नुपर्छ । यसले मात्र मानव–स्वास्थ्यप्रति सरकार सचेत भएको सन्देश प्रवाह गर्नेछ । सबैले स्वास्थ्य संस्थालाई विवादरहित बनाउने वातावरण
निर्माण गर्नैपर्छ ।
प्रतिक्रिया