स्याङ्जा । आगामी ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा कुन पार्टीको उम्मेदवार को बन्ने भन्ने चर्चा चियापसलदेखि चौतारीसम्म हुने गरेको छ । स्याङ्जा जिल्लामा पनि सत्तारूढ दलको गठबन्धन र प्रतिपक्ष दलको नेकपा एमाले बीचको प्रतिस्पर्धालाई निकै चासोको साथ हेरिएको छ । स्याङ्जामा नेकपा एमालेले तीन वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । ७४ सालको निर्वाचनमा सतप्रतिशत एमालले विजय हासिल गरेको आँधिखोला गाउँपालिकामा अध्यक्ष विश्व पौडेल र उपाध्यक्ष सीता थापालाई उम्मेदवार बनाउने घोषणा गरेको हो । पौडेल नेकपा एमाले जिल्ला कमिटिका उपसचिव हुन् । थापा जिल्ला समन्वय समितिको सदस्य हुन् ।
यस्तै वालिङ नगरपालिकाको नगरप्रमुखको उम्मेदवार कृष्ण खाँण र उपप्रमुखको उम्मेदवार खगिसरा थापा घोषित गरिएको छ । नगरप्रमुखमा १० जनाको उम्मेदवारी रहेको वालिङमा खाँणलाई सर्वसम्मत निर्णय गरिएको नेकपा एमाले वालिङ नगरकमिटीका अध्यक्ष शोभकान्त पौडेलले बताए । खाँण जिल्ला कमिटीका उपाध्यक्ष हुन् भने थापा जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।
हरिनास गाउँपालिकामा अध्यक्ष खिमनाराण मानन्धरले दोहो¥याउने भएका छन् । उपाध्यक्षमा ईन्द्रकुमारी थापा सर्वसम्मत चएन भएकी छन् । बाँकी रहेको आठ पालिकाको पालिका कमिटीले टुंगो लगाउन नसकेपछि प्रदेश कमिटीमा सिफारिस पठाइएको नेकपा एमाले जिल्ला सचिव राजेन्द्र डुम्रेले बताए ।
नेपाली कांग्रेसले भने गठबन्धनसँग सल्लाह भइरहेको कारण जिल्लाको कुनै पालिका टुंगो लगाउन सकेको छैन । राजनीतिक हिसाबले निकै महत्वपूर्ण मानिएको वालिङ नगरमा भने नेपाली कांग्रेसबाट को आउने भन्ने चर्चा चलिरहेको छ । वालिङबाट दिलीप प्रताप खाँण, भोजराज अर्याल, कल्पना तिवारी र केदार काफ्लेको चर्चा चलेको छ ।
स्याङ्जा
प्रतिक्रिया