धामीझाँक्रीको विश्वास गर्दा महिलाको मृत्यु

महेन्द्रनगर । धामीझाँक्रीको विश्वास गर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए ।

झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको बताइएको छ ।

स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेका थिए । प्रहरी उपरीक्षक चौधरीले झारफुकमा संलग्न दुवौ जनालाई नियन्त्रणमा लिएको जनाउँदै महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको बताए । ‘घटनाबारे विस्तृत अनुसन्धान हुँदैछ’, उनले भने, ‘दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ ।’

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । ‘धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ’, उनले भने, ‘बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो ।’

प्रतिक्रिया