बर्दिबासमा अकांक्षी धेरै हुँदा उम्मेदवार टुंग्याउन सकस

महोत्तरी । जिल्लाकै सबैभन्दा बढी मतदाता भएको बर्दिबास नगरपालिकामा २८ वटा मतदानस्थल र ५८ वटा मतदान केन्द्र रहेका छन् । नगरपालिकामा मात्र ४४ हजार चार सय ६० जना मतदाता छन् ।

उपमहानगरपालिका बन्ने चर्चा चलिरहेको बेला जिल्लाका १५ पालिकामध्ये बर्दिबासमा निर्वाचनपछि कसको सत्तारोहण होला भन्ने चर्चा र बहस पनि त्यतिकै छ ।

निर्वाचनको निर्धारित मिति नजिकिरहेको छ । नगरभित्र दलहरू उम्मेदवार तय गर्न तल्लो कमिटीदेखि माथिल्लो तहसम्म छलफल चलिरहेको छ । तर, बजारमा सबै दलका आकांक्षीको चर्चासँगै व्यक्तिगत चरित्र र क्षमताको चियोचर्चो पनि बढ्न थालेका छन् ।

सत्तारुढ दलहरूले गठबन्धन गर्ने निर्णयपछि गठबन्धन दलहरू साझा उम्मेदवारको रस्साकसीमा छन् । नगरभित्र संगठनिक संरचनाको हिसाबले गठबन्धन दलहरुमध्ये माओवादी र नेपाली कांग्रेसले सत्ताको दावी गर्दै आएका छन् भने अन्य दलहरू आफ्नै तरिकाले उम्मेदवार टुंग्याउन लागिपरेका छन् ।

माओवादी केन्द्रबाट राजु खडका, प्रकाश पोखरेल, विदुर कार्की, राजन ढुंगाना, शंकर महतो, रुद्र सुस्लिङ्गले दावी गरिरहेको चर्चा छ भने नेपाली कांग्रेसबाट चिरिन्जीवी हमाल र प्रल्हाद क्षेत्रीको दावी छ । तर, संख्यात्मक हिसाबले जसको जेजस्तो दावी भए पनि दुवै पार्टीबाट एउटा साझा उम्मेदवार बन्नेछ ।

यता, नेकपा एमाले पनि चुनाव लक्षित कार्यक्रमसँगै नगरको सत्ता हात पार्न लागि परेको छ । अहिले नेकपा एमाले गाउँ–गाउँमा पुगेर संगठनिक संरचना निर्माणदेखि आफ्नो माहोल बनाउन अन्य दलको तुलनामा निक्कै अगाडि बढेको छ ।

तर, टिकट प्राप्तिका लागि पार्टीभित्र नै अकांक्षीहरू दौडधुपमा लागेको देखिन्छ । कहिले शीर्ष नेतालाई भेट्ने त कहिले आफ्नो प्रभाव बनाउन नेताहरू मिडिया खोज्दै हिडेका छन् ।

नेकपा एमाले बर्दिबासमा टेकबहादुर बलाम्पाकी, चन्द्रबहादुर क्यापछाकी, सारदादेवी थापा, केदारवहादुर बस्नेत, फाल्गुन सुस्लिङ मगरको चर्चा छ । अकांक्षीहरूमध्ये टेकबहादुर बलाम्पाकी र फाल्गुन सुस्लिङ मगर माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका हुन् ।– न्युज कारखाना

प्रतिक्रिया