बहसमा प्रस्तरकला

ललितपुर । मौलिक नेपाली कलाको विकासमा राज्यले हरतरहको सहयोग गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताएकी छन् । स्टोन क्राफ्ट एसोसिएसन अफ नेपालको आयोजनामा नख्खुमा भएको कार्यक्रममा मन्त्री भुसालले सरकार व्यवसायीका समस्यामा गम्भीर हुनुपर्ने बताउँदै प्रस्तरकलाको विकासका लागि नीतिगत सुधारमार्फत दीर्घकालीन समाधानमा आफ्नो ध्यान केन्द्रित रहने बताइन् । उनले भनिन्, ‘कलाको संरक्षण राज्यको समेत दायित्व हो । देशको समृद्धिको उद्देश्य पूरा गर्न निजी क्षेत्रसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुन्छ । यसमा राज्यले नीतिगत तथा योजनागत रुपमा सहयोग गर्दछ ।’ उनले विशेषतः ढुंगाखानीसँग सहकार्य गर्ने वातावरण लगायतका विषयमा धारणा राख्दै प्रस्तरकलाका लागि चाहिने कार्यक्षेत्र तथा संग्रहालयलाई व्यवस्थित गर्न सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री भुसालले प्रस्तरकलामा आबद्ध कलाकार तथा व्यवसायीका समस्या न्यूनीकरणमा सामूहिक पहलको आवश्यकता महशुस गर्दै संस्था स्थापना गरिएकोमा सफलताका कामनासमेत गरिन् ।

नयाँ वर्ष २०७९ को अवसर पारेर गरिएको यो कार्यक्रममा अन्तत्र्रिmयामा व्यवसायलाई अझ व्यवस्थित गर्न राज्यको सहयोग आवश्यक रहेको व्यवसायीहरुको धारणा छ । सो कार्यक्रमका कलालेखक डा. यामप्रसाद शर्माले संस्कृति र सभ्यता नै कला भएकाले मौलिकता जोगाउन र विश्वमाझ नेपालीपनलाई चिनाउन कला संरक्षण अपरिहार्य रहेको बताए । उनले वैदेशिक मुद्रा आर्जन हुने, देशको पहिचान झल्किने, सुन्दरता कायम हुने, वातावरणमैत्री समेत रहेको मौलिक कलाको संरक्षणमा सबैले योगदान दिनुपर्नेमा जोड दिए । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले कला र संस्कृतिको विकासका लागि महासंघले काम गर्दै आएको बताए । उनले कलाकृतिको संरक्षणमा आफूहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कलाकार र व्यवसायीको हकहितमा योजनागत रुपमा काम गर्न महासंघ लागिपरेको जनाए । उनले भने, ‘कलाकार र पेशाकर्मीको सुरक्षा र संरक्षण नै महासंघको मुख्य उद्देश्य हो । अध्यक्ष शाक्यले आपसी सहकार्यबाट नै अपेक्षित लक्ष्य हासिल गर्न सकिने जिकिर गरे । उनले कोभिड–१९ ले हस्तकलाका सबै क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै अझै पनि अन्तर्राष्ट्रिय बजार राम्रोसँग विस्तार हुन नसकेको बताए । व्यवसायीले नयाँ अवसरको खोजी गर्नुपर्ने विचार व्यक्त गर्दै उनले कोभिडलाई आन्तरिक बजार विस्तारलाई अगाडि लैजानका लागि अभिप्रेरित गरेको बताए ।

पछिल्लो समय मौलिक कलाको महत्वप्रति निजी क्षेत्र जागरुक बन्दै गएको छ । राज्य पक्षले पनि आफ्नो बुझाईलाई व्यापक बनाउनुपर्दछ

महासंघका उपाध्यक्ष अमृत खड्काले नेपालमा उत्पादित सामान सिधै बाहिर निर्यात गर्नको लागि पेमेन्ट गेटवे ठूलो समस्याको रुपमा रहेको जिकिर गरे । उनले नेपालमा पे–पल भित्र्याउन सके अन्तर्राष्ट्रिय व्यापारमा रहेको समस्या धेरै हदसम्म कम गर्न सकिने बताए । खड्काले प्रस्तरकलाका लागि ढुंगा ठूलो समस्या रहेको दुखेसो पोखे । उनले नीतिगत समस्याका कारण उपत्यकाभित्रकै ढुंगाखानी प्रयोगमा आउन नसकेको सुनाए । उनले भने, ‘नेपालको राज्य नै स्वदेशी उत्पादनलाई निर्यात गरी लाभ हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा त्यसो नगरी युवा जनशक्ति निर्यात गरेर क्षणिक लाभ हासिल गर्न केन्द्रित हुनु नै हाम्रो ठूलो समस्या रहेको छ ।’

एसोसिएनका अध्यक्ष चन्द्रश्याम डंगोलले नेपालमा प्रस्तरकलाको विकास, संरक्षण, प्रवद्र्धन तथा व्यवसायलाई संस्थागत ढंगले अगाडि बढाउन संस्था स्थापना गरिएको बताए । उनले राज्यले नेपालको मौलिक कलाको विकास, संरक्षण तथा प्रवद्र्धनमा आवश्यक पहल लिनुपर्नेमा कलाकार र व्यवसायीलाई दुःख दिने काममात्रै गरेको सुनाए । उनले राज्य पक्षको बुझाई घर बनाउने ढुंगा, रोडा, बालुवा र मूर्तिकला निर्माणको लागि आवश्यक पर्ने ढुंगा सम्बन्धमा एकै किसिमको हुनु नै गुणस्तरीय ढुंगाको उपलब्धतामा ठूलो समस्या रहेको बताए । उनले भने, ‘पछिल्लो समय मौलिक कलाको महत्वप्रति निजी क्षेत्र जागरुक बन्दै गएको छ । राज्य पक्षले पनि आफ्नो बुझाईलाई व्यापक बनाउनुपर्दछ ।’ अध्यक्ष डंगोलले संघ स्थापनाको उद्देश्य सबै प्रस्तर कलाकर्मीलाई एक ठाउँमा जोड्दै सामूहिक प्रयत्नबाटै हरेक समस्या सामना गर्नु रहेको बताए । उनले संघको दायरा उपत्यका बाहिरका इटहरी, धरान, इलाम, बुटबल लगायतमा समेत विस्तार गर्ने आफ्नो योजना रहेको डंगोल सुनाए ।

सो अवसरमा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाल, कलालेखक देवेन्द्र थुम्केली, ढुंगा व्यवसायी बोधिरत्न शाक्य लगायतले प्रस्तरकलासम्बन्धी ज्ञान र इतिहास शैक्षिक पाठ्यक्रममा नै समेट्नको लागि पहल गर्नुपर्ने बताए । यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा हस्तकला महासंघका पूर्वअध्यक्ष धर्मराज शाक्यले कलाकार र व्यवसायीका समस्यामा राज्यले ध्यान दिँदै सहज अवस्था बनाउनुपर्नेमा जोड दिए । महासंघका उपाध्यक्ष नवीन शाक्यले कला र संस्कृतिको विकाससँगै आर्थिक उपार्जनमा हस्तकला क्षेत्रले विशिष्ट योगदान दिएको धारणा राखे । उनले नेपालबाट निर्यात हुनेमा अधिक हस्तकलाकै सामान भएको राज्यले कलाकार र व्यवसायीको समस्या समाधानमा पहल लिनुपर्नेमा जोड दिए । महासंघका केन्द्रीय सदस्य विकास शाक्यले कलाको संस्थागत विकास र समृद्धिका लागि बजार व्यवस्थापन मुख्य चुनौतीका रुपमा रहेको धारणा राखे । उनले प्रस्तरकलामा आवद्ध कलाकार तथा व्यवसायीले आफ्नो हकहितका लागि भन्दै स्टोन क्राफ्ट एसोसिएसन अफ नेपाल स्थापना गरेको सफलताको शुभकामना दिए । नौ सदस्यीय नवगठित उक्त एसोसिएसनको कार्यसमितिको अध्यक्षमा चन्द्रश्याम डंगोल, उपाध्यक्षमा जितबहादुर तामाङ, सचिवमा रुपेश बज्राचार्य र कोषाध्यक्षमा सागर परियार रहेका छन् । यस्तै, सदस्यमा काजिमान तामाङ, जेन महर्जन, शंकर परियार, अनिल महर्जन र शुभरत्न बज्राचार्य रहेका छन् ।

प्रतिक्रिया