काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाद्वारा लिखित यात्रा संस्मरणकृति ‘टुप्लुक्क टोकियो’ बजारमा आएको छ । राजधानीमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो । पुस्तकको साहित्यकारहरु प्रतीक ढकाल, राधेश्याम लेकाली, किशोर पहाडी, श्रीओम श्रेष्ठ, जयदेव भट्टराई, डा. दामोदर पुडासैनी, वसन्त श्रेष्ठ, पवन आलोक, जय छाङ्छा, भीष्म उप्रेती, प्रधुम्न जोशी, ठाकुर बेलवासे, पुष्करजंग थापा, सूर्य बिसी र रञ्जना निरौला, पारु तिमिल्सिना, सरिता खनाल लगायतका स्रष्टाले संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।
सो अवसरमा नियात्राकार प्रतीक ढकालले गिरीले एक पछि अर्को उत्कृष्ट कृति लेख्न सफल भएको बताउँदै लामो लेखन सक्रियता लोभलाग्दो भएको विचार व्यक्त गरे । उनले लेखक प्रेरणाले साहित्यका हरेक विधामा कलम चलाउन सफल भएको जिकिर गरे । संघका अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यका लागि गिरी एक उदाहरणीय स्रष्टा भएको बताए । उनले भने, ‘प्रेरणाको लेख शैलीको जति चर्चा गरे पनि कम हुन्छ । साहित्यका प्रायः विधामा उत्तिकै सबल व्यक्तित्वका रुपमा हामीले गिरीलाई चिन्दछौं ।’ सो कार्यक्रममा साहित्यकार डा. दामोदर पुडासैनीले गिरीले नेपाली साहित्यलाई एकपछि अर्को महत्वपूर्ण कृति दिएर गुन लगाएको बताए । उनले भने, ‘सरल भाषामा लेखिएको ‘टुप्लुक्क टोकियो’ सबैलाई पढ्नुपर्ने कृति हो ।’
कार्यक्रममा लेखक गिरीले लेखन आफ्ना लागि नशाजस्तै भएको सुनाए । उनले भने, ‘लेखन र अध्ययनविना म बाँच्नै सक्दिन ।’ सो अवसरमा सञ्चारकर्मी तथा लेखक ठाकुर बेलवासेले गिरी अक्षरका ‘डोजर’ भएको जिकिर गरे । उनले युवा पुस्ताका लागि गिरी प्रेरणाको स्रोत भएको बताए । बिएन पुस्तक संसारले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रहेको छ । कार्यक्रममा अमेरिका निवासी कवि वसन्त श्रेष्ठ र जापान निवासी पुष्करजंग थापालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया