काठमाडौं । प्रगतिशील लेखक संघ (प्रलेस) को १२औँ राष्ट्रिय सम्मेलनले डा. मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । राजधानीको कमलादिस्थित प्रज्ञा भवनमा शुक्रबार र शनिरबार भएको सम्मेलनले प्रलेसको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा र महासचिवमा डा देवी दुलाल चयन गरेको छ । यस्तै, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेतलाई सर्वसम्मत चयन भएका छन् । साथै सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष डा. गिरीले नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनलाई व्यवस्थित ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले समाज रुपान्तरणका लागि सांस्कृतिक आन्दोलनलाई सिर्जनशील तरिकाले अगाडि बढाउनु पर्ने चुनौती रहे पनि यसलाई देशव्यापी बनाउने गरी काम गर्ने जनाए । उनले भने, ‘समाजमा रहेको खराब सोच र विचारका विरुद्ध प्रगतिशील रुपान्तरणका लागि सिर्जनशील अभियानलाई प्रलेसले अगाडि बढाउने छ ।’ निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गरे भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले सपथ दिलाए ।
प्रतिक्रिया