लमजुङमा चार दल चुनावी गठबन्धनमा

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा आगामी वैशाख ३० गते हुनलागेको स्थानीय निर्वाचनमा जिल्लामा रहेको चार सत्तारूढ दलबीच गठबन्धन गरेर जाने निर्णय भएको छ । नेपाली कांग्रेस जिल्ला सभापति टकराज गुरुङको अध्यक्षतामा गठबन्धन दलका प्रमुखको मंगलबार बेँसीसहरमा बसेको बैठकले संघीय सरकारमा रहेका पाँच दलीय सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वबीच हालै सम्पन्न बैठकले गरेका निर्णय र निर्देशन बमोजिम लमजुङमा पनि सोहीअनुसार अघि बढ्ने निर्णय गरेको हो ।

जिल्लामा रहेका प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, नेकपा–एकीकृत समाजवादी जिल्ला कमिटी र जनता समाजवादी पार्टी जिल्लाकार्य समिति लमजुङले आगामी निर्वाचनमा गठबन्धन गरी स्थानीय निर्वाचनमा जाने निर्णय गरेको छ । कांग्रेस जिल्ला सभापति गुरुङका अनुसार उक्त बैठकले जिल्लामा रहेका चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहदेखि जिल्ला समन्वय समितिसमेतमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपाली कांग्रेस जिल्ला सभापति गुरुङको संयोजकत्वमा सदस्यमा माओवादी केन्द्र लमजुङका संयोजक मधु अधिकारी गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारी र जनता समाजवादी पार्टीका अध्यक्ष गमबहादुर तामाङ रहने गरी आसन्न निर्वाचनमा जिल्ला संयन्त्र बनाउने निर्णय गरेको छ ।
जिल्लाका आठ पालिकामा गठबन्धन दलहरूको संयन्त्र सम्बन्धित दलका प्रमुख रहने गरी निर्माण गर्ने निर्णय गरेको छ । पालिका स्तरीय संयन्त्रमा संयोजक कांग्रेसका सम्बन्धित पालिका सभापति र सदस्यमा सम्बन्धित पालिकाका गठबन्धन दलका अध्यक्ष वा प्रमुख रहने निर्णय गरेको कांग्रेस जिल्ला सभापति गुरुङले बताए । उनले भने, यस निर्णयबाहेक गठबन्धन दलबीच गठबन्धनको मर्म र भावना अनुरूप सुमधुर सम्बन्ध कायम राख्दै दल भित्रका जिम्मेवार नेता तथा कार्यकर्ताले एकआपसमा गठबन्धन विरोधी आरोप प्रत्यारोप नगर्न नगराउन, सामाजिक सञ्जाल लगायतका सञ्चारमध्यमबाट अशिष्ट, गालीगलोजजस्ता गतिविधि नगर्न नगराउन, आआफ्नो दलका नेता तथा कार्यकर्तालाई अपिल गर्ने एवं आपसी सम्मान र हार्दिकताको विकास गर्दै संयुक्तरूपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन निर्देशन गर्ने निर्णय गरेका छौँ ।

त्यस्तै, आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा गठबन्धन दलको दलगत बस्तुस्थितिको प्रतिवेदन संयुक्तरूपमा तयार गरी आ–आफ्नो पार्टीको केन्द्रमा पठाउने निर्णय गरेको छ । निर्वाचनका लागि उम्मेदवार पालिका संयन्त्रको बैठक पश्चात् टुंग््याउने बताइएको छ । जिल्लाका सबै वडादेखि पालिकासम्म गठबन्धनले जित्ने गठबन्धन दलको दाबी रहेको छ । उक्त बैठकमा कांग्रेस लमजुङका पूर्वसभापति तुलसीनारयण श्रेष्ठ, जनता सभाजवादी पार्टीका केन्द्रिय सदस्य खेमजंङ गुरुङ लगायतको सहभागिता रहेको थियो । गत स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसबाट मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको थियो । त्यस्तै, माओवादी केन्द्रले दोर्दी गाउँपालिका अध्यक्ष पद जितेको थियो । त्यस्तै, सुन्दरबजार नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेस, मस्र्याङ्दी गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्र, राइनास नगरपालिकामा कांग्रेसले उपप्रमुख पद जितेको थियो ।

प्रतिक्रिया