हराउँदै ढिकीमा धान कुटने प्रचलन

कञ्चलपुर । आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुटने प्रचलन हराउँदै जान थालेको छ । थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुटने कार्य गर्दै आएका थिए । घरघरमै ढिकी र ओखल बनाइएका हुन्थे । हाल कुटानी–पिसानीका मिल ठाउँठाउँमा सञ्चालनमा आएसँगै ढिकी र ओखल देख्नैसमेत मुस्किल हुन थालेको छ । ढिकी र ओखलमा धान कुटदा निकै श्रम गर्नुपर्ने र समयसमेत धेरै लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तेजबहादुर शाहले जानकारी दिए । उनले भने, ‘महिलालाई निकै बोझ थियो, ठूलो परिवारका महिलाले निकै परिश्रम गर्नु पर्दथ्यो । धान कुटने कार्य महिलाले मात्रै गर्दथे । हाल मिल सञ्चालन भएपछि महिलाको कार्यबोझ घटेको छ ।’ मिलमा ल्याउन लैजान मात्रै समय लाग्ने गरेको छ ।

ढिकी र ओखलमा चार÷पाँच दिन लगाएर कुटिने धान मिलमा थोरै समयमा कुटिने गरेको उनले सुनाए । ‘बिहानीको झिसमिसेमै उठेर महिलाले ढिकीमा धान कुटने गर्दथे,’ सुम्नी चौधरीले भनिन्, ‘ती दिन थारू समुदायका महिलाका लागि कष्टका दिन थिए ।’ ठूलो परिवार हुने महिलाले त राती १२ बजे उठेर ढिकीमा धान कुटनु पर्दथ्यो । एक दिन कुटेको धानको चामल दुई दिनका लागि मात्रै पुग्दथ्यो । फेरि धान कुट्नका लागि जुटनुपर्दथ्यो ।’ दिनभरि घरको काम, राती पूरै निद नसुतेर ढिकी कुट्नुपर्ने ती पुराना दिन सम्झँदा आजभोलि सपनाझैँ लाग्ने गरेको उनले सुनाइन् । ढिकीमा दुईदेखि चार जनासम्मले धान कुट्नका लागि काम गर्नु पर्दथ्यो । ‘दसैँलगायतका चाडपर्वमा विगतमा चामल कुटेर भिजाइ पुनः ढिकीमै पिठो बनाउनु पर्दथ्यो’, कल्लु ढकहेरले भनिन्, ‘त्यसबेला थारै ठाउँमा मात्रै मिल थिए, सबैको पहुँच थिएन, पहुँच भए पनि सबैसँग खर्चको अभाव हुन्थ्यो । त्यसैले घरमै बनाएका ढिकीमा धानबाट चामल र पिठो बनाउथ्यौँ ।’

ढिकीमा कुटेको धानको चामल मिलको तुलनामा खानमा निकै मिठो हुने गरेको उनको अनुभव छ । ढिकीमा धान कुट्ने कार्यगर्दा सासु–बुहारीबीच गीत गाउने चलनसमेत रहेको कालुराम डगौराले बताए ।

सासु : ‘उठोउठो रे ढिया रे पठोरी उठो ढिकी कुट हली
मुर्गा बाँग छोडल उठो हली’
(प्यारी लाडली बुहारी बिहानीको उज्यालो हुनैथाल्यो, कुखुराले डाँको छाड्न थाल्यो ढिकी कुट्न उठ)
बुहारी : ‘कहना त कहलो सासु, कामके बात कहलो
नानु बलुखा दूध नै छोअरि हो मै कैसे उठजाउ’
(उठ्नका लागि भन्यौँ सासू, कामको कुरा हो, सानो बालकले दूध खान थालेको छ, छोडिराखेको छैन कसरी उठु)
यस्ता प्रकारले गीतमै सवाल–जफाव हुने गरेको डगौराले बताए । ‘गीतकै बोल सुन्दा बुहारीलाई कति दुःख हुन्थ्यो, यसैबाट थाहा हुन्छ’, उनले भने । घरका बुहारीलाई ढिकी कुट्न निकै कष्ट थियो । हाल आधुनिक मिलहरू गाउँगाउँमा आएपछि निकै सहजता भएको उनको अनुभव छ । ‘हाल विद्युत् नभएका बेला मिल सञ्चालन नहुँदा पर्खनुपर्दछ’, उनले भने, ‘त्यो बेला परनिरर्भता भने थिएन । आफ्नै घरमा ढिकी हुन्थ्यो । जति बेला चामल सकियो, त्यही बेला धान कुट्न सकिन्थ्यो ।

प्रतिक्रिया