पाँच वर्षमा झन्डै १० हजार बलात्कृत

काठमाडौं । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी–८ की बालिकालाई खेल्दै गरेको अवस्थामा जंगलमा लगेर बलात्कार गरि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका आरोपीद्वय सुन्दरहरैचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीले साविति बयान दिएपछि प्रहरीले फागुन २९ गतेमात्र घटना सार्वजनिक गरेको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले चौधरीद्वयको बयान सुनेपछि जिब्रो टोके ! जिल्ला प्रहरी कार्यालय मोरङका एक प्रहरी अधिकारीका अनुसार अबोध बालिकामाथि भएको बर्बरताका बारेमा आरोपीले घटना स्वीकार गर्दा उनीहरुमा कुनै पश्चाताप थिएन ।

गत फागुन ११ गते मोरङकै लेटाङमा विद्यालयको पढाई सकेर फर्कंदै गरेकी १२ वर्षीया बालिका घर पुग्न पाइनन् । १३ गते लेटाङ नगरपालिकास्थित लालहिरा सामुदायीक जंगलमा ढुंगाले छोपेको अवस्थामा ति बािलकाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा बालिकाको बलात्कारपछि हत्या गरेको रहस्य खुल्यो । प्रहरीले हत्या आरोपी स्थानीय ६४ वर्षीया दीपक गिरीलाई पक्राउ गरेको थियो ।

गोरखाको माछाखोलामा शारीरिक रुपमा अस्वस्थ ११ बालिका गत माघ २५ गते बलात्कृत भइन् । चकलेट र पैसाको प्रलोभन देखाएर ति बालिकालाई बलात्कार गरेको अभिभावकको आरोप छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बलात्कारको आरोपमा काठमाडौं कपनका रितेश क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले सरकारी वकिलमार्फत अदालतमा मुद्दा चलाएपछि क्षेत्री पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

अबोध डेढ वर्षीया बालिका, स्कुलबाट फर्कंदै गरेकी बालिका र शारीरिक रुपमा अस्वस्थ बालिकामाथि भएको हिंश्रक घटनालाई केहीले दण्डहीनतालाई र केहीले नेपालको सामाजिक संरचनालाई दोष दिँदै आएको पाइन्छ । २०७४ साल साउनदेखि २०७८ साल माघसम्म प्रहरी कार्यालयमा बलात्कारका नौ हजार सात सय ५३ वटा घटना दर्ता भएको अभिलेखबाट देखिन्छ । प्रत्येक वर्ष एक हजार चार सयभन्दा माथि नै बलात्कार घटनाको उजुरी आउने गरेको प्रहरी मुख्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा मात्रै दुई हजार पाँच सय ५४ वटा बलात्कारको उजुरी प्रहरीमा दर्ता भएका थिए । यो आर्थिक वर्षको माघसम्ममा भने एक हजार तीन सय एकवटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार बलात्कारका अधिकांश घटनामा पीडित र पीडकपक्ष चीनजानकै हुने गरेका छन् । बलात्कार घटनामा ६५ प्रतिशतभन्दा बढी बालिका नै पीडित हुँदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार बलात्कारका अधिकांश घटनामा पीडित र पीडकपक्ष चीनजानकै हुने गरेका छन् । बलात्कार घटनामा ६५ प्रतिशतभन्दा बढी बालिका पीडित हुँदै आएका छन् ।

पछिल्लो पाँच वर्षको अवधिमा १० वर्ष मूनी र १५ वर्षसम्मका पाँच हजार एक सयजना बालिका बलात्कारको सिकार भएका छन् । केहीबाहेक अधिकांश बलात्कारको घटनामा संलग्न अभियुक्तलाई कानुनी दायरामा ल्याइएको दावी एसएसपी केसीको छ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अझसम्म रहस्यमै छ । २०७५ साल साउनमा भएको उक्त घटनाले सडकदेखि सदनसम्म तताएको थियो । तर, आरोपी अहिलेसम्म पक्राउ परेका छैनन् ।

गोपाल ढकाल (मनोविद्)

दण्डहीनता र समाजको चरित्र मुख्य दोषी : गोपाल ढकाल (मनोविद्)
बलात्कारका केही घटनामा दण्डहीनता पनि मुख्य कारक बन्न जान्छ । भैहाल्यो, इज्जत प्रतिष्ठाको कुरा हो, यही समाजमा बस्नुपर्छ भन्दै बालिका र महिलामाथि भएका हिंसाका घटना त्यसै दबाइन्छ । पञ्चायत बसेर मिलापत्र गर्नु पनि दण्डहीनताकै एउटा पक्ष हो । त्यही भएर आपराधीक मनस्थितिकाले अपराध गर्ने मौका पाउँछन् ।

बलात्कार हुनुका पछाडि पीडक व्यक्ति लागू पदार्थको दुव्र्यसनी, मादक पदार्थको सेवनकर्ता र उसमा पलाइरहेको आपराधिक मनोचिन्तन प्रमुख कारण हो । त्यस्तै कोही व्यक्तिमा साइकोपाथको समस्या पनि हुन्छ । उसले पटकपटक अपराध गर्न कसैसँग सम्झौता गर्दैन । त्यस्ता व्यक्तिले अवसर पायो कि अपराध गरिहाल्छन् ।

बलात्कारका घटनामा धेरैजसो बालिका शिकार हुनुको पछाडि साइकोपाथ पनि मुख्य कारण हो । यौन विचलन पनि अर्को कारण हो । जसरी भएपनि यौन चाहना पुरा गर्न पाए हुन्थ्यो भन्ने सोच भएका व्यक्तीले वालिका मात्रै होइन आफूभन्दा ठूलो उमेरका महिलालाई पनि यौनको सिकार बनाउँछन् । पिडियोफेडिया भएकाले जहिल्यै आफूभन्दा सानालाई सिकार बनाएर यौनतृष्णा मेटाउन खोज्छन् ।

केही घटनामा समाजको चरित्र पनि जोडिएको हुन्छ । चेतनाको कमीसँगै पछिल्लो समयमा सोसल मिडियाको अत्यधिक प्रयोगले पनि यौनहिंसाका घटना बढेको देखिन्छ । मोबाइलमा पोर्नसाइट हेर्ने गलत आचरण भएका व्यक्तिबाट पनि बलात्कारका घटना निम्त्याइरहेको देखिन्छ ।

 

प्रतिक्रिया