मोरङ । जिल्लाको जहदा गाउँपालिकामा एकदिने माटो परीक्षण शिविर सञ्चालन भएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउन किसानको घरदैलोमा विभिन्न शिविर सञ्चालन गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले उक्त शिविर सञ्चालन गरेको हो । माटोको सुक्ष्मतत्वको अवस्था र त्यसको उपचार विधिका विषयमा किसानलाई जानकारी गराउन परियोजनाले एकदिने शिविर सञ्चालन गरेको हो । यसअघि माटो परीक्षणका लागि किसानले सुनसरीको झुम्का जानुपर्ने अवस्था थियो । त्यस्तो अवस्थामा परियोजनाले किसानको घरदैलोमा पुगेर माटो शिविर सञ्चालन गरेपछि किसान हर्षित भएका छन् । माटो परीक्षण गर्ने भेन लिएर प्राविधिकका टोली किसानको घरदैलोमा पुगेपछि माटो परीक्षण शिविरमा किसानको उल्लेखनीय सहभागिता थियो । कृषि प्राविधिकसमेत किसानको खेतबारीमा पुग्न नसकेको अवस्थामा परियोजनाले चासो देखाउँदै शिविर सञ्चालन गरेपछि खेतबारीको माटो बोकेर परीक्षण गराउन किसान शिविर पुगेका थिए ।
स्थानीय किसान देवानन्दा साहले परियोजाले केही दिनअघि बाली उपचार शिविर सञ्चालन गर्दा बालीमा लाग्ने रोगकीराको बारेमा जानकारी लिन सहज भएको र अहिले पुनः परियोजाले नै घरदैलोमा माटो शिविर सञ्चालन गरेकोमा माटोको अवस्थाको वारेमा सहज जानकारी हुने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले यसै वर्षदेखि जहदा र कटहरी गाउँपालिकामा तरकारी जोन सञ्चालनमा ल्याएको छ । जोन सञ्चालनमा आएपछि सो पालिकाहरूमा कृषिको आधुनिकीकरण तथा यान्त्रीकरण सहयोग पुग्नुका साथै कृषक लक्षित विभिन्न कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । दुवै पालिकाको साढे पाच सय हेक्टर क्षेत्रफललाई समेटेर परियोजनाले जोन सञ्चालन गरेको हो । सो पालिकामा उत्पादित तरकारी नेपालका प्रमुख बजारहरूमा पुग्ने गरेका छन् ।
तरकारी जोनका संयोजक शिवनाथ सिंहले सुनसरीको झुम्कास्थित माटो तथा मल परीक्षण प्रयोगशालमा पुगेर आफ्नो गाउँमा शिविर सञ्चालन गर्न पटकपटक आग्रह गर्दा पनि शिविर गाउँमा आउन नसकेको अवस्थामा परियोजनाले घरदैलोमा आएर शिविर सञ्चालन गरेकोमा परियोजनालाई धन्यवाद दिँदै उनले शिविरका कारण आफ्नो खेतबारीको माटोको अवस्थाको बारेमा जानकारी लिन सहज भएकाले आपूmहरू उत्साहित भएको बताए ।
परीक्षण भेनसहित आएको प्राविधिक टोली सञ्चालन गरेको शिविरमा सो पालिकाका ६५ जना किसानले आप्mनो खेतबारीको माटो परीक्षण गराएका थिए । परीक्षण गरिएको माटोको म्याग्नेसियम, पोटास, सल्फर तथा फसफोरसको अवस्था तथा माटोको उर्वराशक्ति बढाउन कुन विषादी प्रयोग गर्ने र आफनो खेतबारीमा मलको मात्रा कति प्रयोग गर्ने विषयमा माटो परीक्षण गर्ने किसानलाई स्वायल हेल्थकार्ड उपलव्ध गराउने परियोजना प्रमुख विनोदकुमार मण्डलले बताए । जथाभावी बढी मलको प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएकाले परियोजनाले शिविर सञ्चालन गरेको भन्दै उनले खेतबारीमा मलखाद प्रयोग नभएको अवस्थामा किसानले त्यस्ता माटो परीक्षण गराउनुपर्ने बताए । मलखाद प्रयोग भएका माटो परीक्षण गर्दा नतिजा फरक आउने उनको भनाइ थियो ।
यस क्षेत्रको ९० प्रतिशत माटोमा अम्लीयपन बढी देखिएकाले त्यसमा सुधारका लागि किसानले कृषि चुन प्रयोग गर्नु आवश्यक रहेको परियोजना प्रमुख मण्डलको भनाइ थियो । परियोजनाले माटोको उर्वराशक्ति बढाउन निःशुल्क विषादीसमेत किसानलाई वितरण गर्ने जनाएको छ । जहदा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरले कृषि उत्पादन बढाउन जहदा गाउँपालिकाले माटो परीक्षण तथा कोल्ड स्टोर स्थापनाका लागि बजेट छुट्याएको भन्दै सहज बजारका लागि तरकारी संकलन केन्द्र आवश्यक रहेको बताए ।
परियोजनाले रतुवामाई नगरपालिकमा सञ्चालित धान जोन कार्यक्रमलाई लक्षित गर्दे माटो परीक्षण शिविर सञ्चालन गरिसकेको छ । त्यस्तै परियोजनाले केही दिनअघि जहदा गाउँपालिकामा किसानको घरघरमा पुगेर बालीमा लाग्ने रोग किराको पहिचान गर्न बाली उपचार शिविर सञ्चालन गर्दै निःशुल्क विषादीसमेत वितरण गरेको परियोजना प्रमुख मण्डलले बताए ।
प्रतिक्रिया