क्रिकेटले दिएको उत्साह

नेपाल डिभिजन ४ क्रिकेटको विजेता बनेको उत्साह सेलाइसकेको छैन । अहिले नेपालको उत्साही क्रिकेट टोली अर्को ठूलो सफलतानजिक पुगेको छ । युएईमा जारी एसिसी एलाइट कप क्रिकेटको फाइनलमा प्रवेश गरेर नेपाल अर्को इतिहास रच्ने संघारमा पुगेको हो । विगतमा एसिसी ट्रफीको फाइनलमा पुगे पनि नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यद्यपि, नेपाली टोली अहिले जुन लयमा छ, फाइनल जितेर आए कुनै आश्चर्य हुने छैन । फाइनलमा नेपालले अर्को बलियो टोली युएईसित भिड्नुपर्ने भएको छ । लिग चरणमा युएईलाई हराएकाले नेपाली टोलीको मनोबल उच्च हुनेछ । विगतमा युएईकै कारण पटक–पटक उपाधिबाट वञ्चित हुनुपर्नेको इतिहास सच्याउने मौका नेपालले यसपटक पाएको छ ।
फाइनलसम्मको यात्रामा नेपाली पुन: एकपटक नेपाली खेलाडीहरूले आफ्नो सामथ्र्य राम्रैसित उजागर गरेका छन् । विगतदेखि नेपाल बलिङमा निर्भर थियो तर पछिल्लो समयमा ब्याटिङमा आश्चर्यजनक सुधार आएको छ । क्रिकेट भनेको कुनै एउटा पक्षमा मात्र धारिलो भएर जितिँदैन । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्ष सन्तुलित हुनुपर्छ । बलिङ र फिल्डिङमा अब्बल नेपालका लागि ब्याटिङ भने लामो समयदेखिको टाउकोदुखाइ बनिरहेको थियो । तर, एकाएक नेपालको ब्याटिङमा नयाँपन देखिनु सुखद पक्ष हो । डिभिजन ४ देखि एसिसी एलाइट कपसम्म नेपालको ब्याटिङ गतिमा बगेको छ, त्यस्तो विगतमा कहिल्यै देखिएको थिएन । नेपालका ब्याट्सम्यानहरू एकपछि अर्को रेकर्ड बनाइरहेका छन् । ब्याटिङ र बलिङको सन्तुलन नै यस प्रतियोगितामा नेपाली टिमको विशेषता मान्न सकिन्छ ।
दक्षिण एसियामै लोकप्रिय खेल हो क्रिकेट । नेपालमा पनि यसको लोकप्रियता उच्च छ भने नेपाली टोलीको अन्तर्राष्ट्रिय सफलतासँगै लोकप्रियताको पारो माथि चढ्दै गएको छ । यद्यपि, नेपालले अहिलेसम्म एकदिवसीय वा टेस्ट खेल्ने मान्यता प्राप्त गर्न सकेको छैन । विश्वकप क्रिकेटमा खेल्ने सपना पनि अझै चुनौतीपूर्ण छ । अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आक्कल–झुक्कल मात्रै हुने गर्दा नेपाली खलाडीले त्यति ‘एक्सपोजर’ पाउन सकेका छैनन् । प्राकृतिक रूपमै प्रतिभावान खेलाडीहरू नेपालले पाएको छ तर उनीहरूलाई ‘गु्रम’ गर्ने वातावरण छैन । छिमेकी देशमा खेलाडीले खेलेकै भरमा करोडौँ, अर्बाैं रुपियाँ कमाउँछन् । तर, नेपालका खेलाडीलाई गुजारा गर्न नै धौधौ छ । त्यसमाथि क्रिकेट खेलाडी कुनै प्रतियोगिता जितेर आकस्मिक रूपमा प्राप्त हुने नगद पुरस्कारमा निर्भर छन् । खेलेरै बाँच्न सक्ने आधार यहाँ निर्माण भएको छैन । देशमा भविष्यको सुनिश्चितता नदेखेर थुप्रै क्रिकेट खेलाडी विदेश भासिएका छन् ।
अहिलेको दुनियाँमा खेलकुद केवल मनोरञ्जनको साधन होइन । खेलकुदकै बलमा धेरै देशले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएका छन् । नेपालमा भने अहिलेसम्म दक्षिण एसियाकै खड्गो काट्न सकेको छैन खेलकुदमा । क्रिकेट नै यस्तो खेल हो जसको सम्भाव्यता ठूलो छ नेपालमा । तथापि, क्रिकेटको विकासका लागि सरकारीस्तरमा कुनै ठोस कार्ययोजना छैन । न त निजी क्षेत्रले नै यसमा लगानीका लागि ठूलो चासो देखाएको छ । क्रिकेटको व्यवसायीकरण नभएसम्म खेलाडीले यसमा आफ्नो भविष्य देख्न सक्दैनन् र अन्य विकल्पको खोजीमा लाग्छन् । जीवन धान्नका लागि अरू नै व्यवसाय गर्नुपर्ने अवस्थामा खेलाडीले शतप्रतिशत प्रदर्शन गर्न सक्दैन । खेलाडीलाई पार्ट टाइमबाट फुल टाइम बनाउन व्यवसायीकरण अनिवार्य छ । अनि अनिवार्य छ, सरकारी र निजी क्षेत्रको हातेमालो ।

प्रतिक्रिया