काठमाडौं । नेपाली हस्तकला र कला, संस्कृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई जनस्तरसम्म पु¥याउने लक्ष्यका साथ मेला हुने भएको छ । नेपाल हस्तकला महासंघले विगत वर्षजस्तै यस वर्षको मंसिर ३ देखि ५ गतेसम्म १८औ हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता आयोजना गर्न लागेको हो । विगत वर्षमा भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यस वर्ष हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिने महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले बताए । उनले नेपाली हस्तकलालाई देशभित्र र बाहिर चिनाउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको सुनाए । कला प्रतियोगिताका संयोजक राजमान वज्राचार्यले मेलामा हस्तकला लगायत विभिन्न वस्तुका गरी करिब एक सय २० स्टल रहने बताए । उनले मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिता अन्तर्गत नेचुरल फाइवर (प्राकृतिक रेसा) र फिलगिरी गरी दुई विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गर्ने जानकारी दिए ।
त्यस्तै, मेलाकै अवसरमा ७० वर्ष नाघेका अग्रज कलाकार तथा हस्तकला वस्तु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघ/संस्थाको पनि सहयोग रहेको छ । उक्त महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्य लगायतको पनि उपस्थिति रहेको थियो ।
नेपाली हस्तकला लगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यवसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता÷उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देशप्रवाह गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी व्यवसायीलाई बजार पहँुचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य रहेको छ ।
प्रतिक्रिया