म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–६ ठाडाखानी गाउँको शिरानमा रहेको तामाखानी उत्खनन्को पर्खाइमा छ । रुमले भिरमा अवस्थित उक्त तामाखानी १९७१ सालअघि सञ्चालनमा आए पनि त्यसपछि भने बन्द भएको थियो । तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएका कारण सो तामाखानी बन्द भएको हो । उक्त तामाखानी हालसम्म पुनः सञ्चालनमा ल्याउन कुनै पहल हुन सकेको छैन । तत्कालीन समयमा तामाखानी उत्खनन् गरेवापत सरकारलाई भेजा (कर) तिर्न नसकेका कारण उक्त खानी राणा शासकको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बूढापाका बताउँछन् । त्यसपछिका राजनीतिक परिवर्तनपश्चात पनि उक्त तामाखानी सञ्चालनमा आउन सकेको छैन ।
‘राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएपछि खानी सञ्चालनमा आउने आशा गरेका थिए, चार वर्ष बित्यो, कुनै पहल भएन’, स्थानीय गिरी छन्त्यालले भने । ठाडाखानीमा छन्त्याल र विक जातीका मानिस बसोवास गरेको बस्ती हो । १ सय ६ वर्षअघि उनीहरू रुमले भिरको तामाखानी उत्खनन् गरी तामासँग अन्न साट्ने गरेका थिए । यसरी नै स्थानीयवासीले जीवन निर्वाह गर्दै आएका थिए ।
तत्कालीन सरकारले अत्यधिक कर लिन थालेपछि तामाखानी बन्द गरी अन्य वैकल्पिक पेसा र वैदेशिक रोजगारीतर्फ लाग्नुपरेको रघुगंगा गाउँपालिका–६ का वडासदस्य टेकजीत छन्त्यालले बताए । रुमले भिरमा पाँच सुरुङ छन् । सुरुङको प्रवेशद्वारबाट दुई सय मिटरभित्र छिरेपछि तामाखानी हेर्न सकिन्छ । तामाखानी सञ्चालनमा आउन सके राज्यले वार्षिक करोडौँ आम्दानी गर्न सक्ने तथा स्थानीयवासीले रोजगारी पाउने सम्भावना छ ।
प्रतिक्रिया