माङसेबुङ र फाकफोकथुम पाँच दिनदेखि अन्धकार

इलाम । जिल्लाको पश्चिमी क्षेत्रको दुई गाउँपालिकाका बस्ती पाँच दिनदेखि अन्धकार छ । अविरल वर्षासँगै गएको सोमबारदेखि अवरुद्ध विद्युत् सेवा सुचारु हुन नसक्दा माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका हजारौं घरधुरीका बासिन्दा अन्धकारमा रात बिताउन बाध्य भएका छन् । सदरमुकामसहित अन्य पालिकामा बुधबारदेखि नै विद्युत् सुचारु भए पनि ती गाउँपालिकामा अझैसम्म विद्युत् सुचारु हुन सकेको छैन । वर्षासँगै गएको हावाहुरीले विभिन्न स्थानमा क्षति पुर्याएको छ ।

कतिपय स्थानमा बिजुलीका पोलहरू ढलेका छन् भने कतिपय स्थानमा चुँडिएका छन् । स्थानीय नदीबाट उत्पादित विभिन्न लघजलुविद्युत् तथा पेल्ट्किसेट समेत बाढीले बगाएपछि झनै समस्या उत्पन्न भएको छ । विद्युत् अवरुद्ध हुँदा ती गाउँपालिकाबाट प्रसारण भइरहेका एफएम रेडियो, प्रिन्ट पत्रिका र अनलाइनलगायत सञ्चारका साधनसमेत समस्यामा परेका छन् । साथै गाउँमा खाद्यान्न पिसानी मिल, कम्युटर, टेलिभिजन, कुखुरापालन, खाना पकाउनसमेत प्रयोग गर्दै आएको विद्युत् आपूर्ति ठप्प भएपछि जनजीवनसमेत प्रभावित भएको छ ।

मोबाइल चार्ज सकिएर हजारौँ सेवाग्राही प्रभावित छन् । विद्युतीय व्यावसायिक काममा समेत असर पुगेको छ । अविरल वर्षासँगै गएको सोमबारदेखि अवरुद्ध विद्युत् सेवा अवरुद्ध भएको थियो । अवरुद्ध क्षेत्रमा मर्मत कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया