छापाखाना सञ्चालकको हत्या आरोपित १७ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंमा १७ वर्षअघि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुतलीसडकस्थित एकता प्रेस छापाखानाका सञ्चालक दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ८ का ३१ वर्षीय अर्जुन भन्ने खिमबहादुर शिवाकोटीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं महानगरपालिका वडा २६ म्हैपीबाट प्युठान घर भई काठमाडौंको धुम्बाराही बस्ने ४१ वर्षीय शनी नरसिंह राणालाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत असोज १५ गते पक्राउ गरेको थियो। उनी पक्राउ परेको बारे प्रहरीले बुधबार जानकारी दिएको हो ।

२०६१ पुस २२ गते छापाखाना अगाडि उनीहरूबीच पार्किङको विषयमा विवाद भएको थियो  । विवादपछि उनीहरूले खिमबहादुरमाथि हेल्मेट, फलामको रड र चिया पकाउने भाडो समेतले कुटपिट गरी घाइते बनाएर भागेको आरोप छ । कुटपिटबाट घाइते भएका खिमबहादुरलाई उपचारको लागि वीर अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनामा संलग्न व्यक्तिहरू खोजी गर्ने क्रममा बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल आउनेहरूले कुटपिट गरेको खुलेको थियो । प्रहरीले लामो समयदेखि फरार रहेका राणालाई १७ वर्षपछि पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा उनीमाथि थप अनुसन्धान गर्न वृत्त सिंहदरबारमा राखिएको छ। यही मुद्दामा थप दुई जना फरार छन् । मोटरसाइकल धनी इश्वरी राणा र गोरखा सिरानाचोक गाउँपालिका वडा नम्बर ५ घर हुने सानो धने भन्ने धन बहादुर गुरुङ छन् ।

प्रतिक्रिया