तीन वर्षदेखि तलब नपाउँदा निजी स्रोतका शिक्षक मर्कामा

सल्यान । जिल्लाका सामुदायिक विद्यालयहरूमा पठनपाठन गराइरहेका शिक्षकहरूले तीन वर्षदेखि तलव पाएका छैनन् । जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा नीजि स्रोतमा अध्यापन गराउँदै आइरहेका शिक्षकहरूले तलव सुविधा नपाएका हुन् । बनगाड कुपिण्डे नगरपालिकामा रहेको भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजिस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि भने तलब नपाएको बताए । तीन वर्षदेखि तलब नपाउँदा दैनिक गुजारा सञ्चालन गर्न निकै समस्या भएको उनको भनाइ छ । ‘विगत झैँ यो वर्षको चाडपर्व खल्लो नै हुने भयो । पारिश्रमिक आउने निश्चित नहुँदा थप अन्यौलता थपिएको छ’, बुढाले भने ।

विज्ञान विषय पढाउँदै आइरहेका बर्दियाका युवराज विष्टले दुई वर्षको पारिश्रमिक नपाए पनि विद्यालयबाट राजीनामा दिएर घर फर्किएको उनको भनाइ छ । आपूmसँगै तीन शिक्षकले तीन वर्षदेखि तलब नपाएको उनको दुःखेसो रहेको छ । विगतमा नियमित पाउँदै आएको तलबभत्ता विगत एक वर्षदेखि रोकिएको जय नेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले बताए । तलब नपाएपछि धेरै शिक्षकले छाडेर गएको भए पनि स्थानीय भएकाले विद्यार्थीको भविष्य हेरेर आफूले छोड्न नसकेको उनको भनाइ छ । ‘छोडेर जाने हो विद्यार्थीको भविष्य अन्योलमा पर्ने, नछोडौँ आफ्नो भविश्य अन्योलमा परिरहेको छ’, बुढाले भने ।

विद्यालय समुदायको स्वैच्छिक शुल्क र अन्य स्रोतबाट सञ्चालन भइरहेकाले निजी स्रोतमा पढाउने शिक्षक तलबविहीन बन्नु परिरहेको प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिए । नगरपालिकामा धेरैपटक अनुदानको व्यवस्था गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ । ‘विद्यालय नै बन्द गर्ने अवस्था आयो भन्दा पनि विद्यालय बन्द गर्न नदिने तर सहयोग पनि आइरहेको छैन’, शर्माले भने ।

बनगाड कुपिण्डेमा सञ्चालन भएका अधिकांश आधारभूत विद्यालयमा पढाइरहेका निजी स्रोतका शिक्षकले वर्षौंदेखि पारिश्रमिक पाएका छैनन् । जिल्लामा विद्यार्थी अनुसारका शिक्षक दरबन्दीहरूमा शिक्षकहरू नहुँदा विद्यालयले न्यूनतम पारीश्रमिकमा शिक्षकहरू भर्ना गरेर पठनपाठन सञ्चालन गर्दै आएका छन् । तर विद्यालयहरूमा आर्थिक स्रोत अभावका कारण निजी स्रोतका शिक्षकहरूलाई तलब उपलव्ध गराउन नसक्दा शिक्षकहरू मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रिया