पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा बुधबार राती जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ ।स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुंगामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ । अस्पतालको आकस्मिककक्ष, कोभिड–१९ संक्रमितको उपचार हुने एचडियुसहित अस्पतालका झ्यालढोका सहितका संरचना फुटेका छन् ।
जिल्ला अस्पतालको बाहिर ढुंगा, इँटा, काठ, मुढा, रडको थुप्रो लागेको छ । अस्पतालमा रहेका कुर्सी टेबलसहितका सामग्री फुटेका छन् भने अस्पतालको बगैँचा पनि क्षतविक्षत छ । जिल्लाको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको थियो । यसपछि आफन्त र अन्य स्थानीयवासीले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको जनाउँदै यसको विरोधमा उत्रेका थिए । बिहानबाट अस्पताल प्रशासन, प्रशासनिक निकाय तथा बालिकाका आफन्तबीच छलफल भए पनि बेलुकीसम्म निष्कर्षमा नपुग्दा उत्तेजित बनेको भिडले अस्पतालको संरचनामा जथाभावी प्रहार गरेको थियो ।
आगजनीमा उत्रेकालाई तितरबितर पार्न प्रहरीले पटकपटक अश्रुग्यास प्रहार गरे पनि उत्तेजित भिड प्रहरीसँगै जाइलागेको थियो । रातभरजसो फिदिमका चोकमा प्रहरीले आन्दोलनकारीलाई धपाउने प्रयास गरेको थियो । अस्पतालका भौतिक संरचनामा तोडफोड हुनुका साथै आपत्तिजनक नाराबाजी भएपछि स्वास्थ्यकर्मी उपचारमा खटिने वातावरण बनेको छैन । अस्पताल प्रशासनले आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । आकस्मिककक्षसमेत सहजरूपमा सञ्चालन हुनसक्ने अवस्था छैन । अस्पतालमाथि आज बिहान समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा संवाद गरिएको थियो । संवादमा बालिकाको शव बुझ्ने तथा घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ । यस्तै अस्पताल प्रशासनले बालिकाको काजकिरिया खर्चका लागि ४० हजार रकम उपलब्ध गराउने भएको जनाइएको छ ।
प्रतिक्रिया