तनहुँ । जिल्लाको भिमाद नगरपालिकास्थित जिदी खोलामा पक्की पुल नहुँदा बर्सेनि सर्वसाधारणले जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ । पुलका अभावमा सर्वसाधारणले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । सर्वसाधारणको सास्तीमा मलम लगाउन उक्त ठाउँमा पक्की पुलको योजना परे पनि लामो समयसम्म पुल अलपत्र भयो । ०७३ मा सम्झौता भएर ०७५ सालमा सम्पन्न भइसक्नुपर्ने पुल लामो समयदेखि अलपत्र हुँदा सर्वसाधारण थप मारमा परे । अलपत्र पुल हेर्दै खोला तर्नुपर्ने बाध्यता हटेन । अहिले भने पुल निर्माणले गति लिएको छ । निर्माणाधीन मोटरेबल पुलको कामले तीव्रता पाएसँगै स्थानीयवासी खुसी भएका छन् । अलपत्र परेको पुल पछिल्लो समय तीव्रगतिमा काम हुन थालेपछि निर्माणको अन्तिम चरणमा पुगेको छ ।
पुलको ८५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनियर दीपेन्द्र पन्थले जानकारी दिए । उनका अनुसार अहिलेकै गतिमा काम भए बाँकी १५ प्रतिशत छिट्टै सम्पन्न हुनेछ । ‘पुल ढलानको काम भइसकेको छ । पुलमा फुटपाथ, दुईतर्फको सडक, नदी कटान रोक्न तारजाली गर्ने र फिनिसिङको काम बाँकी छ’, उनले भने ।
निर्माण कम्पनीले भने झण्डै ९५ प्रतिशत काम सकिएको दाबी गरेको छ । दैनिक २०÷२२ जना कामदार खटाएर काम भइरहेको निर्माण कम्पनी शान्ति निर्माण सेवा काठमाडौंका प्रतिनिधि कमल दाहालले बताए । उनका अनुसार तिहार अगाडिसम्म पुलको काम सम्पन्न हुनेछ । ‘रेलिङ हालिसक्यौँ, फुटपाथको काम बाँकी छ । थोरै काम तारजालीको पनि छ’, उनले भने, ‘तिहार अगाडिसम्म पुलको काम सक्छौँ ।’
पाँच वर्षदेखि पुल निर्माणाधीन रहेको छ । एक वर्ष अगाडीसम्म पुल निर्माणको काम निकै सुस्त थियो । समयमै पुल निर्माण नहुँदा यातायातका साधन र सर्वसाधारणले जिदी खोला वारपार गर्न सास्ती निकै सास्ती भोग्नुपरेको छ । केही दिनअघि मात्रै सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केदार सिग्देलले पुलको निरीक्षण गर्दै छिटोभन्दा छिटो काम सम्पन्न गर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।
०७३ असार २९ गते पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने पुलको काम समयमा नसकिएपछि ०७५ साउन ६ गते म्याद थप गरिएको थियो । थप गरिएको म्याद पनि गत १२ असारमा सकिएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण निर्माणाधीन आयोजनाको म्याद स्वतः ६ महिना थप भएको छ । थपिएको म्यादअनुसार आगामी पुसमा सम्पन्न गर्नुपर्ने भए पनि तिहारअगाडि सक्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
खोलाको दुवैतर्फ सडक कालोपत्र छ । पुल नहुँदा कालेपत्र सडक अर्थ नभएको स्थानीयवासी बताउँछन् । दुई स्पानको पुलको लम्बाइ ५० मिटर र चौडाइ ११ मिटरको हुनेछ । पुलको लागत ४ करोड ९० लाख ८२ हजार ९ सय १३ रुपैयाँ रहेको छ । पुल निर्माण भएपछि भिमाद बजारबाट मिर्मी भीममार्ग हुँदै जिल्लाका विभिन्न क्षेत्र र छिमेकी जिल्ला स्याङ्जा, पाल्पासम्म आउजाउ गर्ने सवारीसाधन र सर्वसाधारणलाई सहज हुनेछ ।
प्रतिक्रिया