काभ्रे । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप नमोबुद्ध नगरपालिका–९ को सहयोगमा दाप्चा स्वास्थ्यचौकीले नगदसहित सम्मान गरेको हो । नगरपालिकाको विभिन्न वडाका आमाहरूलाई बुधबार आयोजित एक कार्यक्रमकाबीच प्रोत्साहन रकम प्रदान गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले यही १ साउनदेखि १४ असोजसम्मको अवधिमा छोरीलाई जन्मदिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ जना आमालाई नगद प्रदान गरे । नमोबुद्ध नगरपालिका–९ ले विगतका वर्षदेखि नै दाप्चा स्वास्थ्य चौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएवापत वडाबाट प्रदान गरिने पाँच हजार, स्वास्थ्य संस्थामा सुत्केरी भएवापतको दुई हजार, एम्बुलेन्स खर्चबापत १८ सय, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप दुई हजार र चारपटक गर्भ जाँच गराएबापतको आठ सय रुपैयाँ एकमुष्ठ रूपमा प्रदान गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिकाले सडक, पूर्वाधार मात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यस वर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई मजबुत बनाउनका लागि थप नीति तथा कार्यक्रम तय गरेको बताए । नगरको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको तथा नगरमा थप एम्बुलेन्सको व्यवस्था गरिएको उनले जानकारी दिए ।
यस्तै उपप्रमुख रामदेवी तामाङले हाम्रो समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको बताउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको बताइन् । छोरीको आशमा दुईभन्दा बढी सन्तान नजन्माउन महिलाहरूलाई आग्रह गर्दै उनले पहिले भन्दा अहिले धेरै हदसम्म विभेद कम भएको र यसलाई पूर्णरूपमा अन्त्य गरेपछि मात्रै समुन्नत समाजको कल्पना गर्नसक्ने बताइन् । यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले छोरी जन्माउँदा हतोत्साही नभई गौरव गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको बताए । उनले महिलालाई छोरी जन्माएवावत गौरवबोध होस् भन्ने उद्देश्यले थोरै भए पनि प्रोत्साहन रकम उपलव्ध गराउन थालिएको जानकारी दिए । आफ्ना बालबालिकाको पोषणका साथै शिक्षादीक्षामा पनि विशेष ध्यान दिन उनले आग्रह गरे ।
वडा–९ का वडाध्यक्ष मेलबहादुर लामाले सामाजमा रहेका विकृतिको अन्त्यका लागि सन्देशमुलक रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । समाजमा अझै पनि बच्चा जन्मनुअघि भु्रण जाँच गर्ने प्रचलन कायमै रहेको भन्दै उनले त्यसको अन्त्य गर्नु जरुरी रहेको बताए । कार्यक्रममा वडा–११ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, नमोबुद्ध नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नवराज दाहाल, श्री कृष्ण बहुमुखी क्याम्पसका प्राचार्य ज्ञानबहादुर भुजेल, वडा सदस्य ईश्वरी श्रेष्ठ, समाजसेवी हरि तिमल्सिना, नेपाली कांग्रेसका नेता पुष्पराज श्रेष्ठ लगायतले छोरी जन्म प्रोत्साहन कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन दाप्चा स्वास्थ्यचौकीका इन्चार्ज बलराम पौडेलले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया