काठमाडौं । कोरोना कहरपछि ठप्प कलाक्षेत्र विस्तारै चलायमान हुन थालेको छ । कला प्रदर्शनी, कार्यशाला तथा अन्य विविध गतिविधि बढिरहेका छन् । यसबीचै अल्फ्रेस्को मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा २९ जना कलाकारको सामूहिक कला प्रदर्शनी भएको छ । ‘अल्फ्रेस्को आर्ट एग्जिविसन २०२१’ शीर्षकमा भएको प्रदर्शनीमा आधुनिक, समसामयिक, परम्परागत थाङ्का पौभा, मिथिला लगायतका विभिन्न शैलीका कलाकृति राखिएको छ ।
प्रदर्शनीको उद्घाटन गर्दै उद्घाटन स्टार अस्पतालका अध्यक्ष किशोर महर्जनले कला र संस्कृतिले मानिसलाई भावनात्मक रुपमा जोड्ने विचार व्यक्त गरे । उनले कलालाई राज्यले सही ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै नेपाली कला र कलाकारका कला विश्व स्तरीय रहेको बताए । कलाकार तथा कलालेखक मुकेश मल्लले कलाको सही मूल्यांकन हुन सकेमा मात्रै देशको प्रसिद्धी बढ्ने धारणा व्यक्त गरे । उनले कोरोना कहरपछि कलाक्षेत्रले गति लिन थालेको बताउँदै अल्फ्रेस्को कला प्रदर्शनीले नेपालका पुरानादेखि नयाँ पुस्ताका कलाकारलाई जोडेको बताए ।
प्रदर्शनीका कोअडिनेटर श्यामकृष्ण श्रेष्ठले कलाक्षेत्रलाई चलायमान बनाउने लक्ष्यका साथ प्रदर्शनीको आयोजना गरिएको बताए । उनले लगभग ठप्प रहेको कलाक्षेत्रमा केही गर्ने उद्देश्यका साथ प्रदर्शनी गरिएको सुनाउँदै कलाकारको सहभागिता र दर्शक आगन्तुक पनि रुचिका साथ अवलोकनमा आएको जनाए ।
प्रदर्शनीमा अजित साह, कोमलनारायण श्रेष्ठ, राजकुमार राना मगर, रितेश बज्राचार्य, माइला दोङ, श्रावण शाक्य, अमिर शाक्य, मानध्वज तामाङ, राजकृष्ण महर्जन, झलक केसी, सुनिलबाबु कार्की, विक्रम प्रजापति, खिलेन्द्र तुलाधर, विजय कोइराला, सिर्जित भासिमा, चिरञ्जीवी श्रेष्ठ, रश्मी मानन्धर, मनिषा साह, दिपक सिंजाली मगर, लक्ष्मीभक्त भासिमा, सन्तोष राई, लक्ष्मण श्रेष्ठ, दिया बज्राचार्य, सविन आचार्य, रमेश श्रेष्ठ, शिवकुमार श्रेष्ठ, विनिता खड्का, दिपेश सिजांली मगर, रुद्र प्रताप लगायतका २९ जनाका कलाकारका ५९ कलाकृति राखिएको छ ।
प्रदर्शनीमा राखिएका कलाकृतिले नेपालको समग्र कलाशैलीको प्रतिनिधित्व गरेको बताए । उनले भने, ‘कला र संस्कृतिको विकासका लागि कला प्रदर्शनीको महत्व विशेष रहने भएकाले यस प्रदर्शनीको महत्व पनि विशिष्ट रहेको छ ।’ प्रदर्शनीमा नेपालमा चलेका कलाका विभिन्न चिन्तन र शैलीका कलाकृति राखिएको र तिनमा सामाजिक, सांस्कृतिक, धार्मिक तथा समसामयिक विषय रहेको आयोजक दीपा विश्वकर्माले बताइन् ।
प्रतिक्रिया