‘प्रचार गरिएजति भ्रष्टाचार छैन’

नयाँदिल्ली : भारतीय वित्तमन्त्री पी चिदम्बरम्ले भारतको वर्तमान सरकार भ्रष्टाचारी भएको भनी हालैका केही दिनमा गरिएको टीकाटिप्पणीको खण्डन गरेका छन् । राजधानी नयाँदिल्लीमा बिहीबार संवाददातासँग कुरा गर्दै उनले भने, ‘अधिकांश मानिस युपिए सरकार स्वतन्त्र भारतको इतिहासकै सबैभन्दा भ्रष्ट सरकार हो भन्ने ठान्दछन् र त्यस ढंगले प्रचारप्रसार पनि गरिरहेका छन् तर त्यो सत्य होइन ।’
उनले थपे, ‘यो अनावश्यक हल्ला मात्र हो, वर्तमान सरकार प्रचार गरिएजस्तो भ्रष्ट छैन । बरु यो सरकारले भारतमा भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानुन निर्माणका साथै अन्य अग्रसरता पनि लिइरहेको छ ।’ उनले भारतमा आर्थिक सुधारका कार्यक्रमका लागि सरकारले विभिन्न अभियान ल्याउने पनि बताए । उनले आर्थिक विकासका लागि सरकारको प्रयास जारी रहेको स्पष्ट पारे । उनले कोइला खानीबाट आजभन्दा १० वर्ष पहिला जति राजस्व प्राप्त हुन्थ्यो, त्यो अहिले १० गुणाभन्दा पनि बढी मात्रामा सरकारलाई प्राप्त भइरहेको उदाहरण पनि पेस गरे । यो व्यापारको आँकडा नै धेरै भएकाले पनि मानिसलाई भ्रष्टाचार धेरै भएको हुनुपर्छ भन्ने लागेको उनले टिप्पणी गरे । केही साताअघि मात्र भारतको सो कोइलाखानीका लागि दिइएको अनुमतिका क्रममा सरकारले व्यापक भ्रष्टाचार गरेको भन्दै सरकारविरुद्ध प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया