स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने घट्दै

रुकुमपूर्व । रुकुमपूर्वमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र गर्भ जाँच गराउने महिलाको संख्यामा कमी आएको पाइएको छ । संस्थागत सुत्केरी हुने र गर्भ जाँच गराउनेको संख्या गत तीन वर्षयताको अवस्था हेर्दा सो तथ्यांकमा कमी आएको पाइएको हो । रुकुमपूर्वमा गएको आव ०७७/७८ मा जिल्लामा सुत्केरी भएका कुल ६ सय ९२ जनामा ५२ प्रतिशत मात्र संस्थागत सुत्केरी भएका छन् । घरमै सुत्केरी हुनेको प्रतिशत लगभग ४८ छ । यसैगरी आव ०७६/७७ मा ५ सय ७१ महिला सुत्केरी भएका थिए । जसमा त्यस वर्ष संस्थागत सुत्केरी हुनेको प्रतिशत ४६ रहेको छ ।

त्यसको अघिल्लो अर्थात् आव ०७५/७६ मा ५ सय ८५ जना सुत्केरी भएकामा संस्थागत सुत्केरीको दर ४७ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन एवं सूचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिएका छन् । यसमा पनि ५० प्रतिशत दक्ष प्रसूतिकर्मीमार्फत सुत्केरी हुने गरेका छन् भने ५० प्रतिशत अन्य स्वास्थ्यकर्मीमार्फत सुत्केरी हुने गरेका छन् । संस्थागत सुत्केरी हुने पुथाउत्तरगंगा गाउँपालिकामा सबैभन्दा कम रहेको छ । सूचना अधिकारी गिरीका अनुसार गएको तीन वर्षमा पहिलो वर्ष १ सय २७, दोस्रो वर्ष ९३ जना संस्थागत सुत्केरी भएका छन् ।

यसैगरी भूमे गाउँपालिकामा पहिलो वर्ष २ सय २५, दोस्रो वर्ष २ सय २९ र तेस्रो वर्षमा २ सय ४० जना स्वास्थ्य संस्थामा सुत्केरी भएका सूचना अधिकारी गिरीले बताए । सिस्नेमा भने पहिलो वर्ष २ सय ३३, दोस्रो वर्ष २ सय ४९ जना र तेस्रो वर्षमा ३ सय ४ जना स्वास्थ्य संस्थामा गएर सुत्केरी भएका छन् । यसैगरी जिल्लामा गर्भ जाँच गराउनेमा पछिल्ला तीन वर्षमा करिब ४४ जना मात्र रहेका थिए । सूचना अधिकारी गिरीले गर्भवती भएपछि पहिलोपटक गर्भ जाँच गराउने ६० प्रतिशत हुने गरेको र चारपटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेको संख्या भने ४५ प्रतिशतमा झर्ने गरेको बताए ।

भौगोलिक हिसाबले विकट यस क्षेत्रका सबै नागरिक स्वास्थ्य संस्थाको पहँुचमा नहुनु, अज्ञानता, जनचेतनाको कमीलगायत कारणले जिल्लामा स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने र सुत्केरी हुनेको संख्या नबढ्ने गरेको स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ ।

प्रतिक्रिया