अन्तर्राष्ट्रिय कला प्रदर्शनी

कास्की । नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यका साथ भर्चुअल कला प्रदर्शनी सुरु भएको छ । नगेन न्यूज पब्लिकेसन प्रालिले ‘कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ आयोजना गरेको उक्त प्रदर्शनीको उद्घाटन गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गरे । एक महिनासम्म चल्ने ‘अन्तर्राष्ट्रिय खुल्ला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी–२०७८’ मा १६७ कलाकारका कलाकृति राखिएको छ ।

मन्त्री कँडेलले डिजिटल प्रविधिबाट प्रदर्शनीको उद्घाटन गर्दै कोरोना संक्रमण जोखिमको समयमा पनि कलाकारका लागि अन्तर्राष्ट्रिय कला प्रतियोगिता तथा प्रदर्शनी वर्तमानको बाध्यतासँगै अवसर बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘कला र संस्कृतिले जनता, समाज, राष्ट्र र विश्वलाई जोड्ने भएकाले यसको विकास, संरक्षण, प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्दछ ।’

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कलालाई पत्रकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताउँदै पोखराबाट यो प्रर्दशनीको सुरु हुनु गौरवको विषय भएको विचार गरिन् । प्रायोजक, समर्थक र प्रवद्र्धकविना नै कलाकारका लागि कलाकार भन्ने नाराका साथ कला र कलाकारको समृद्वि, विकास र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गरिएको नगेन न्युज पब्लिकेसन प्रालिका अध्यक्ष ज्योति हमालले जानकारी दिइन् । उनले कलाको विकासविना समाज समृद्ध बन्न नसक्ने धारणा व्यक्त गरिन् । उनका अनुसार प्रदर्शनीका क्रममा कलाकृति बिक्री भई उठेको रकममध्ये ७० प्रतिशत कलाकारलाई र १०÷१० प्रतिशत रकम पुरस्कार, कल्याणकारी कार्यक्रम तथा स्मारिकालाई छुट्याइने छ । अध्यक्ष हमालले प्रदर्शनीमा १८ देखि ८६ वर्ष उमेर समूहका १५ देशका १६० कलाकार, दुईजना अप्रतियोगी र पाँच निर्णायक गरी १६७ कलाकारले विभिन्न माध्यम, तरिका र साइजमा बनाएका कलाकृति राखिएको जानकारी दिइन् ।

एक महिनासम्म डब्लुडब्लुडब्लुडट नगेनआर्टडटकममा प्रदर्शनीमा राखिनेछ । कोरोना महामारीका समयमा कलाकारका समस्याबारे कोही कसैले चिन्ता नगरेको वास्तविकतामा उनीहरूको सामाजिक सञ्जालमार्फत कलाकारले पनि केही गर्नुपर्ने आवश्यक भएको महसुस गर्दै ‘कलाकारका लागि कलाकार’ प्रतियोगिता तथा प्रदर्शनी गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वसभासद् प्राज्ञ नगेन सिंह ठकुरीले बताए ।

प्रतियोगिताको निर्णायकमा पञ्जाव विश्वविद्यालको कला र डिजाइन कलेजका प्राध्यापक डा सुमेर जावाड, गुवाहाटी आसामका कलाकार दादुल चालिहा, शान्ता मरियम युनिभर्सिटी ढाकाका प्राध्यापक दिवान मिजान, कलाकार प्राज्ञ ज्योतिप्रकाश बिके तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वसभासद् प्राज्ञ नगेनसिंह ठकुरी रहेका थिए । गत जेठ ३० गते पुरस्कारका लागि दरखास्त आह्वान गरिएकामा १५ राष्ट्रका १६० कलाकारका कला उपलब्ध भएकामा २७ जनालाई पुरस्कारका लागि छनोट गरिएको छ । छनोट हुनेमा नेपाल, भारत, पाकिस्तान, मलेसिया, बंगलादेश, इटाली, श्रीलंका, थाइल्याण्ड, क्युवा, युके, आयरल्यान्ड, फिलिपिन्स, रोमानिया, फ्रान्स र अस्ट्रेलियाका कलाकार रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया