ग्यास चुलो वितरण गर्दै जगरनाथपुर

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–६ को प्रसौनी, औराहा, संठी, माधोपुर बहुवरीमा सोमाबार ग्यास चुलो र सिलेन्डर वितरण कार्य सुरु भएको छ । जगरनाथपुर गाउँपालिकालाई धुँवा मुक्त गर्ने उद्देश्यका साथ एक कार्यक्रमका बीच जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले ग्यास चुलो, सिलेन्डर बितरण गरेर सुरु गरेका हुन् । गाउँपालिका अध्यक्ष मियाँले भने, ‘मेरो अभियान घरघरमा ग्यास चुला, सिलेन्डर पुर्याउने अभियान रहेको छ । पालिकाभरका महिलाहरूलाई दाउरा लिन घरबाट बाहिर जानु पर्ने र चुलो फुक्दा निस्केको धुँवाबाट आँखामा समस्या र विभिन्न रोग लाग्ने देखिएकोले ग्यास सिलेन्डर बितरण कार्य सुरु गरेका हौँ ।’ यो अभियान वडा–६ संठी औराहाबाट सुरु भएको छ ।

स्थानीय निर्वाचनको समयमा गाउँपालिकालाई धुँवामुक्त बनाउन घरघरमा ग्यास चुला र ग्यास सिलेन्डर बितरण गर्ने प्रतिबद्धतालाई पूरा गरेर देखाएका छन् । गाउँपालिका अध्यक्ष मियाँले वडा–६ संठी औराहा प्रसौनी माधोपुर बहुवरीलगायतका १२ सय ५० घरपरिवारलाई वितरण गरिने बताए । सोमबारबाट सुरु गरिएको ग्यास चुला र ग्यास सिलेन्डर एउटा घरसमेत नछुट्ने गरी वितरण गरिने अध्यक्ष मियाँले बताए । मियाँले भने, ‘जगरनाथपुर गाउँपालिकाभरिमा आठ हजार ग्यास चुला र सिलेन्डर बितरण गर्नेछौँ ।’ उक्त कार्यक्रममा गाउँपालिका–६ का अध्यक्ष रामअयोधा पटेल, बिक्रमा रामलगायत जनप्रतिनिधि र स्थानीय नेता, कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया