गठबन्धनमा अध्यादेश झमेला

काठमाडौं । राजनीतिक दलसम्बन्धीको अध्यादेश, २०७८ प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकमा सरकारले पेस गरिसकेको छ । तर अहिलेसम्म पास भने हुन सकेको छैन । एमालेले गरिरहेको संसद अवरोधका कारण यो अध्यादेश सदनमै अड्केको छ । यता अध्यादेश पारित वा निष्क्रिय नभएसम्म फुटेका दलहरूले मान्यता पाउँदैनन् । त्यही भएर नेता माधव नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुरको दललाई मान्यता दिलाउन सरकारलाई यो अध्यादेश कि संसदबाट पारित गर्नुपर्छ कि निष्क्रिय बनाउनु पर्छ । संसदमा पेस गरेको दुई महिनासम्म पास हुन सकेन भने अध्यादेश स्वत : निष्क्रिय हुनेछ । एमाले सदन चल्न नदिएपछि ४ असोजसम्मका लागि संसद स्थगित भएको छ । एमालेले कहिलेसम्म सदन अवरोध गर्छ स्पष्ट छैन ।

संसद अवरुद्ध भइरहे अध्यादेश कात्तिकमा स्वतः निष्क्रिय हुनेछ । त्यसपछि मात्र जनता समाजवादी पार्टी सरकारमा सहभागी हुनेछ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल तत्काल सरकारमा नजाने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका यादवले सरकारमा तत्काल सहभागी नहुनुको कारण खोलेका छन् । ‘अहिले हामी सरकारमा जाँदैनौं। नजानुको पछाडि मुख्य कारण राजनीतिक दलसम्बन्धीको अध्यादेश हो । यो निष्क्रिय नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं,’ यादवले भने ।

पाँच दलीय गठबन्धनमध्येको एक माधव नेपाल नेतृत्वको समूहलाई फाइदा पुग्नेगरी सरकारले दल फुटाउन पाउने अध्यादेश ल्याएको थियो । प्रधानमन्त्री देउवाले गठबन्धनका नेता माधव नेपाललाई सहज हुने गरी सरकारले पेस गरेको राजनीतिक दलसम्बन्धीको अध्यादेश भदौ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् । राजनीतिक दलसम्बन्धीको अध्यादेश जारी भए लगत्तै तत्कालीन नेकपा एमाले भित्रको माधव कुमार नेपाल समूह छुट्टिएर नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरे । जसपाबाट हटेर महन्थ ठाकुरको नेतृत्वमा पनि बेग्लै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामक दल दर्ता भयो ।

सरकारबाट जारी अध्यादेश एमाले र जसपाको आन्तरिक किचलो अन्त्य भएपनि त्यसले भने सरकार विस्तारमा गम्भीर संकट ल्याएको छ । मूलतः अध्यादेशकै कारण सरकार विस्तारमा रोकावट आएको जसपा नेताहरू बताउँछन् । ‘यो अध्यादेश खारेजीको बारेमा प्रधानमन्त्रीज्यूसँग हाम्रो कुराकानी भइरहेको छ, चाँडै निष्क्रिय पार्ने उहाँले बताउनु भएको छ । त्यसैले सम्भवत चाँडै नै अध्यादेश निष्क्रिय हुन्छ अनि हामी पनि सरकारमा सहभागी हुन्छौं,’ यादवले भने ।

दल फुटाउने अध्यादेश निष्क्रिय नगरी सरकारमा गए पुनः आफ्नो दल फुट्ने आँकलन जसपा नेताहरूको छ । यसै कारण उनीहरू सरकारमा जान र मन्त्रिपरिषद् विस्तारमा हतारिएका छैनन् । बरु अध्यादेश निष्क्रिय भएपछि र पार्टी नफुट्ने सुनिश्चित भएपछि मात्र सरकारका जाने आन्तरिक सहमति जसपाका नेताहरूबीच भएको छ । यसमा सबैभन्दा ठूलो अडान अध्यक्ष यादवले लिएको उनी निकट नेता बताउँछन् । यादवको यही अडान लिएपछि सरकार विस्तारमा ‘ब्रेक’ लागेको स्रोतको दाबी छ ।

प्रतिक्रिया