बागलुङका मौरीघार सिक्किममा निर्यात

बागलुङ । जिल्लामा उत्पादित आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेका छन् । बागलुङ नगरपालिका–१२, अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका छन् । सिक्किमको कृषि विज्ञान केन्द्रले यहाँ उत्पादन भएका घार खरिद गरेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको हो । सार्वजनिक सूचनामार्फत् मूल्यसूची माग गर्दा स्थानीय कम्पनीसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलब्ध गराउने जिम्मेवारी पाएको थियो । पहिलो चरणमा २ सय २६ घारका लागि विज्ञान केन्द्रले माग पठाएकाले निर्यात प्रक्रिया थालेको उद्योग सञ्चालक जीवनबाबु खत्रीले बताए ।

‘पत्रिकामा आएको सूचनाका आधारमा मूल्यसूची पेस गरेका थियौँ, हाम्रो घारको गुणस्तर र मूल्य दुवै सारभूत भएको भन्दै हामी छनोटमा परेको सूचना आयो’, खत्रीले भने, ‘त्यहाँको सरकारी निकायले नै हाम्रो घर किसानलाई बाँड्ने भएपछि माग थप बढ्नेछ ।’ अहिले पनि भारतबाटै मौरीका घार नेपाल आइरहेको अवस्थामा यहाँ उत्पादित घार भारतीय किसानको घरघरमा पुग्नु आफ्नालागि सुखद् पक्ष भएको खत्री बताउँछन् । ‘सुन्दै आएको छु, वार्षिक रूपमा नेपालमा ४० देखि ५० हजार मौरीघार भारतबाट आयात हुन्छन्, सहज वातावरण हुने हो भने आयात घटाएर निर्यात गर्न सकिन्छ’, उनले भने ।

टुनीको काठबाट बनेका घारको माग बढी छ । पहिलोपटक भारत निर्यात गर्न थालेको सो उद्योगले नेपालबाट भन्सार पार गाराउन पु¥याउनुपर्ने प्रक्रिया भने झण्झटिलो रहेको जनाएको छ । ‘युवाहरू किन यहाँ काम हुँदाहुँदै बिदेसिन्छन् भनेर बल्ल बुझ्दै छु, घार बनाउन गाह्रो छैन्, तर बिक्री गर्ने प्रक्रियाले बनाउँदाको भन्दा तीन गुणा बढी झण्झट बेहोर्नुप¥यो’, खत्रीले भने, ‘वातावरण सहज भए हाम्रो उत्पादन पनि विदेश निर्यात हुने रहेछ ।’

उद्योगमा नौ जना कालीगढले घार बनाउने काम गर्छन् । नेपालमा मात्रै खपत हुने गरेका मौरीघार विदेशमा समेत माग हुँदा उत्पादन र रोजगारी दुवै बढ्ने खत्री बताउँछन् । वार्षिक १ हजार २ सय घार उत्पादन गर्दै आएको सो उद्योगले पोखराबाट टुनीको काठ खरिद गरेर घार बनाउने गरेको छ । मूल्य प्रतिघार तीन हजारदेखि ३ हजार ६ सयसम्म रहेको छ । ‘यो जिल्लावासी र देशकै लागि सुखद् कुरा हो, छिमेकी मुलुकमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न पाउनु’, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई भन्छन्, ‘वैज्ञानिक रूपमा उत्पादन भएका घार निर्यातमा हामी सहयोग गर्छौं ।’ उद्योगले मौरीसहितका घारलाई भने ८ हजार ५ सयमा बिक्री गर्ने गरेको छ । एक सय घार मौरी रहेको उद्योगमा वार्षिक हजारौँ लिटर मह उत्पादन हुन्छ । बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो एक हजारमा बजारमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया