म्याग्दीमा तरकारी, इन्धन र निर्माण सामग्री अभाव

म्याग्दी । आयात ठप्प भएपछि म्याग्दीमा तरकारी, इन्धन र निर्माण सामग्रीको अभाव भएको छ । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतलाई जोड्ने मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्ड पहिराबाट अवरुद्ध भएपछि जिल्लामा तरकारी, इन्धन र निर्माण सामग्रीको अभाव भएको हो । उक्त सडक खण्ड शुक्रबारदेखि अवरुद्ध छ । यातायात सेवा बन्द हुँदा चार दिनदेखि जिल्लामा आयात, निर्यात ठप्प भएको छ ।म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले सडक अवरुद्ध हुँदा सदरमुकाम बेनीलगायत बजार क्षेत्रमा तरकारी, निर्माण र इन्धनको अभाव हुन थालेको बताए । ‘१०÷१५ दिनलाई पुग्ने खाद्यान्न मौज्दात भए पनि दैनिक आवश्यक पर्ने तरकारी र इन्धनको अभाव भएको छ’, उनले भने ।

जिल्लामा प्रत्येक दुई दिनमा एक÷एक ट्यांकर डिजेल, पेट्रोल, खाना पकाउने ग्यास र प्रत्येक दिन दुई ट्रकका दरले निर्माण सामग्री आयात हुने गर्दथ्यो । जिल्लामा तीन पेट्रोल पम्प छन् । तरकारी बिक्रेता शिव सुवेदी तरकारी आयात नहुँदा गोदाम रित्तिएको बताउँछन् । बेनीमा पोखरा, चितवन, धादिङलगायत जिल्लाबाट दैनिक पाँच क्विन्टल तरकारी आयात हुन्थ्यो ।

काउली, सिमी, भन्टा, गोलभेंडा, करेला, प्याज, खुर्सानीलगायत तरकारीको अभाव भएको तरकारी व्यापारी जगन्नाथ चापागार्इंले बताए । प्याज, लसुन र खुर्सानी बढी मात्रामा आयात हुने गरेको थियो । ‘तरकारीका सबै गोदाम रित्तिएका छन्’, उनले भने । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा वार्षिक १३ हजार मेट्रिक टन तरकारी खपत हुने गरेको छ । जिल्लामा ११ हजार २ सय ७९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जिल्लामा उत्पादन भएको आलु सडक अवरुद्ध हुँदा पोखरालगायत ठाउँमा बिक्री गर्न लैजान सकिएको छैन ।

इन्धन अभाव हुँदा विकास आयोजनासमेत प्रभावित भएका छन् । जिल्लामा हाल ६ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यस्तै बेनी–जोमसोम, बेनी–दरबाङ र मालढुंगा–बेनी सडक आयोजनाको काम पनि प्रभावित भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडक क्षेत्रमा २० भन्दा बढी स्थानमा पहिरो गएको छ ।

सडक अवरुद्ध हुँदा बिरामीलाई पोखरा, काठमाडौं, चितवनलगायत ठाउँमा उपचार गर्न हेलिकोप्टर चार्टर गर्नुपरेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले चट्टानसहितको पहिरो र भासिएर अवरुद्ध बनेको सडक मंगलबारसम्म खुलाउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया