अप्पर इङवा र बिओके सम्झौता

काठमाडौं । बैंक अफ काठमान्डू (बिओके) लिमिटेड र इङवा जलविद्युत् लिमिटेडबीच अप्पर इङवा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । ९.७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इङवा जलविद्युत् आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रहेको छ । इङवा जलविद्युत् लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य गरीरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमान्डू लिमिटेडको एकल लगानी रहनेछ ।

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जाबापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङवा जलविद्युत् लिमिटेडको लगानी रहनेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत अमरपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ । साथै यस कर्जा लगानीपश्चात् यस जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बिओकेले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंक अफ काठमान्डू लिमिटेड नेपालको उर्जा क्षेत्रहरू (सौर्य तथा जलविद्युत्)को बिकासको लागि बैंकिङ क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रणी स्थानमा रही यस बैंकले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ ।

प्रतिक्रिया