नयाँ बसपार्कमा सम्झौताविपरीत काम

काठमाडौं, ३ असोज । गोंगबुस्थित नयाँ बसपार्क निर्माण र व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाबाट जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले सम्झौताविपरीत काम गरिरहेको छ । महानगरपालिकासितको सम्झौताविपरीत उसले नयाँ नक्सा बनाएर अन्य निजी कम्पनीलाई निर्माणको जिम्मा दिने तथा घरजग्गा लिजमा दिँदै करोडौँ रकम खाइरहेको छ ।

सम्झौताविपरीत काम गरेको र पारदर्शी हिसाब–किताब नदेखाएको भन्दै महानगरपालिकाले बसपार्कभित्र भइरहेको निर्माणकार्य रोक्न ल्होत्सेलाई निर्देशन दिएको थियो । तर, महानगरको निर्देशनलाई बेवास्ता गर्दै धमाधम काम भइरहेको छ । उल्टै, ल्होत्सेले सम्झौताविपरीत अन्य निजी कम्पनीलाई भौतिक संरचना निर्माण, घरभाडा तथा
जग्गा लिजमा दिएर करोडौँ रकम असुलिरहेको छ । ६ वर्षदेखि महानगरपालिकालाई तिर्नुपर्ने तीन करोड ल्होत्सेले तिरेको छैन ।
बसपार्कभित्रको भौतिक संरचना निर्माणका लागि ल्होत्सेले पछिल्लोपटक गत १ साउनमा केटु भेन्चरसित सम्झौता गरेको छ । ऊसित पाँच वर्षका लागि ३२ करोडमा सम्झौता गरिएको हो । केटु भेन्चरले दुई करोड रुपियाँ ल्होत्सेलाई दिइसकेको छ । बाँकी रकम पाँच वर्षभित्र बुझाइसक्ने सम्झौतामा उल्लेख छ । केटु भेन्चरले बसपार्कभित्र रहेका झुप्रालाई भाडामा दिन बुकिङसमेत खुला गरिसकेको छ ।
त्यस्तै, महानगरपालिकासितको सम्झौताविपरीत ल्होत्सेले क्रिएसन प्रालि, सप र होम ल्यान्ड प्रालिसित पनि निर्माण तथा व्यवस्थापनको सम्झौता गरेको छ । बसपार्कअगाडि कान्तिपुर मल बनाउन उसले होम ल्यान्ड प्रालिलाई ०६१ सालमा जग्गा लिजमा दिएको थियो । निर्माण गरिएको सो मल पनि मापदण्डविपरीत रहेको महानगरपालिकाको दाबी छ ।
महानगरपालिका भौतिक पूर्वाधार महाशाखाका प्रमुख राम थापाले ल्होत्सेले अन्य निजी कम्पनीसित सम्झौता गर्नु महानगरसितको गरिएको सम्झौताविपरीत भएको बताए । महानगरसितको सम्झौताअनुसार तयार गरिएको नक्सासमेत परिवर्तन गरेर ल्होत्सेले दोस्रो नक्सा बनाएर काम गरेको उनले बताए ।
‘नक्सा नै परिवर्तन गरेर पनि काम भएको छ । महानगरसितको सम्झौताअनुसार ल्होत्सेले बसपार्कभित्रको निर्माण र व्यवस्थापनका लागि अरू निजी कम्पनीसित सम्झौता गर्न पाउँदैन,’ महाशाखाका प्रमुख थापाले सौर्यसँग भने ।
ल्होत्सेले अन्य कम्पनीसित सम्झौता गरेको औपचारिक जानकारी पनि महानगरलाई नदिएको उनले बताए । सम्झौताविपरीत काम गर्नुका साथै ल्होत्सेले महानगरपालिकालाई तिर्नुपर्ने हिसाब–किताबमा पनि गडबडी गरेको उनले बताए ।
ल्होत्सेका प्रबन्ध–निर्देशक कुमार थापा भने आºनोतर्फबाट हिसाब–किताबमा कुनै गडबडी नभएको तथा मापदण्डविपरीत कुनै काम नभएको दाबी गरे । पटक–पटक रोयल्टी बुझाउन जाँदा पनि नबुझेर महानगरपालिकाले उल्टै निहुँ खोजेको उनको आरोप छ ।
बसपार्कमा निर्माण भइसकेका र निर्माणाधीन भौतिक संरचना मापदण्डविपरीत नभएको जिकिर पनि थापाले गरे । ‘कुनै पनि भौतिक संरचना मापदण्डविपरीत छन् भने महानगरपालिकाले आएर भत्काए भइहाल्छ नि †’ महानगरपालिकालाई चुनौती दिँदै उनले भने । ल्होत्सेले महानगरलाई तिर्न बाँकी रकम अब केटु भेन्चरले तिर्ने उनले बताए ।

प्रतिक्रिया