मूर्तिकार शाक्यको निधन

ललितपुर । प्रसिद्ध परम्परागत धातु मूर्तिकार राजकुमार शाक्यको निधन भएको छ । २०२३ साल भदौ ११ गते ललितपुरको थैनामा जन्मिएका शाक्यको २२ जेठमा पुल्चोकस्थित सुमेरू सिटी अस्पतालमा निधन भएको कलाकार एवं नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए । कोभिड–१९ संक्रमणका कारण अस्पताल भर्ना भएका शाक्यको उपचारपछि नेगेटिभ रिपोर्ट आएको र वार्डमा सारिएको थिया । शाक्य गएको वैशाख २१ गते कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको थिए । उपचारपछि कोरोना नेगेटिभ आएपछि उनलाई वार्डमा सारिएको तर अक्सिजन लेभल सन्तोषजनक नभएकाले अस्पतालमा नै उपचाररत् शाक्यको निमोनियाका कारण निधन भएको पौभा कलाकार उजय बज्राचार्यले जानकारी दिए । उनले नेपाली मूर्तिकलाको विकासमा र विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेका वरिष्ठ मूर्तिकार शाक्यको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । बज्राचार्यले राजकुमार सरल, मिजासिलो र सकारात्मक सोच लिएर काम गर्ने व्यक्तित्व तथा एक कुशल र सफल कलाकार भएको बताए ।

उनले भने, ‘सधै सकारात्मक सोचका साथ नयाँ पुस्तालाई कलामा उत्प्रेरित गर्ने विशिष्ट क्षमता अग्रज मूर्तिकार राजकुमार थियो । उहाँले हामीलाई रचनात्मक सुझाव दिँदै ऊर्जा प्रदान गरिरहनुहुन्थ्यो ।’ उजयका अनुसार शाक्यले सयौंलाई धातु कला तथा चित्र सिकाएका थिए । उनले धातु कलालाई पुस्तान्तरण गर्नुपर्छ भन्ने मान्यताका साथ अभियान नै थालेको उजय बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) कुलपति केके कर्माचार्यले नेपाली कला जगतले प्रतिभाशाली कलाकार गुमाएको बताए । उनले भने, ‘शाक्य परम्परागत मूर्तिकला क्षेत्रमा राम्रोे प्रतिभाको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँले धातुमा ठूला–ठूला मूर्ति बनाउनुभएको छ ।’ कुलपति कर्माचार्यले राजकुमारसँग कामका कारणले चिनजान भएको बताउँदै नेपालको सिद्धहस्त कलाकारको निधनले सबैलाई स्तब्ध बनाएको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख प्राज्ञ लालकाजी लामाले परम्परागत मूर्तिकार राजकुमार शाक्यको निधन नेपाली कला क्षेत्रका लागि निकै क्षति भएको बताए । प्राज्ञ लामाले भने, ‘धातुका पातामा मूर्ति बनाउने कार्यमा उहाँको विशष्टि क्षमता रहेको थियो । नेपालको परम्परागत शिल्प विधिमा आधारित रहेर उहाँले पाताबाट मूर्ति बनाउने काममा आफूलाई अब्बल रुपमा सावित गर्नुभएको थियो ।’ एक होनाहार र प्रतिभाशाली कलाकारको निधनले नेपाली मूर्तिकला क्षेत्रमा अपूरणीय क्षति हुन पुगेको लामाले जिकिर गरे ।

नेपाली कला परम्परामा धातुको पातामा सिधै मूर्ति बनाउने मूर्तिकारको छवि बनाएका शाक्यले भुटानमा ११५ फिट अग्लो पद्मसंभवको मूर्ति जमिनदेखि १५५ फिट अग्लो मूर्ति बनाएका थिए । उनले भुटानको ताकिल्लामा चार वर्ष लगाएर ७० हजार किलोग्रामभन्दा बढी धातु प्रयोग गरेर बनाएको सो मूर्ति निकै चर्चा गर्नलायक छ । उनले नेपालका विभिन्न गुम्बा, स्तूप र मन्दिरमा आफ्नो कलाकृति बनाइसकेका छन् भने भारत, भुटान, चीन लगायत विश्वका विभिन्न स्थानमा उनका कलाकृति संग्रहित छन् ।

धातुकलाको ‘थ्वज्या माज्या’ मा निपुण उनी पछिल्लो समय विश्वकै सबैभन्दा ठूलो भैरवको मुकुण्डो बनाउने काममा लागिरहेका थिए । नेपाली परम्परागत कलाको विकास गर्ने लक्ष्यका साथै स्थापित सुमेरु कलाग्रामका अध्यक्ष समेत रहेका शाक्यले नेपालका साथै विश्वका विभिन्न स्थानमा आफ्ना कलाकृति प्रदर्शनी गरेका थिए । उनले संस्थागत रुपमा कला नबुझेका तर बुझ्न चाहनेलाई बुझाउने, कालीगढलाई कलाकार बन्न प्रेरित गर्ने र कलाकारलाई न्यायोचित स्थान दिने उद्देश्यका साथ सुमेरु कलाग्रामको स्थापना गरेका थिए । कलाकार उजयले नेपाली परम्परागत कला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण गर्ने लक्ष्यका साथ सुमेरुमार्फत शाक्यले काम गरेको सम्झिए । उनले नेपाली मौलिक कला परम्परालाई जोगाउन मूर्तिकार शाक्यले निकै मिहिनेत गरेको सुनाए । यस्तै उनी नेपाल आर्ट भिलेजका अध्यक्षसमेत रहेका थिए ।

देश विदेशमा दर्जनौं पटक एकल तथा सामूहिक मूर्तिकला प्रदर्शनी गरेका शाक्यलाई सन् २०१५ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ‘धातु प्रविधि सम्मान पुरस्कार’ प्रदान गरेको थियो । सन् २०१६ ज्यापू कल्चरल डेभलपमेन्ट ट्रस्टले ‘धातु प्रविधि सम्मान (धातु मूर्तिकार) पुरस्कार’ द्वारा सम्मान गरेको थियो । उनले ‘सूचक धातुपत्र कला पुरस्कार २०७६’, ‘नेपाल बंगलादेश मैत्री सम्मान २०७६’, ‘प्रवल गोर्खा दक्षिण बाहु’, नेपाल हस्तकला महासंघबाट ‘बेस्ट आर्टिस्ट अफ द एअर’ लगायत दर्जनौं सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । अन मेटल्स् आर्टस् एण्ड क्राफ्टका संस्थापक शाक्य लोकसाहित्य परिषद्को मानार्थ सदस्यसमेत रहेका थिए ।

प्रतिक्रिया