काठमाडौं । नेपालमा दैनिक संक्रमित भेटिन दर साढे चार हजार नाघेको छ । मंगलबार पिसिआरबाट भेटिएका ४ हजार ५३४ संक्रमित पछिल्लो समयमा एकैदिन भेटिएका सबैभन्दा धेरै हुन् । जसमा पनि काठमाडौं उपत्यकामा मात्रै दुई हजार बढि रहेको छन । सरकारले संक्रमितको चेन ब्रेक गर्नका लागि १० वटा जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा लागु गरेको छ ।
गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार मंगलबारसम्ममा १० जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक निषेधाज्ञा लागु भएको हो । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा छ । कास्कीमा पनि निषेधाज्ञा छ, सवारीसाधनमा जोर–विजोर प्रणाली लगाइएको छ । बर्दिया, बाग्लुङ र कालिकोटमा चाहिँ आंशिक निषेधाज्ञा छ ।
बर्दियाको गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्रमा निषेधाज्ञा छ । त्यस्तै, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर मानपुर टपरा बजार क्षेत्रमा निषेधाज्ञा छ । बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा लाइएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय, बाग्लुङले पनि बाग्लुङ नगरपालिका–३ मा निषेधाज्ञा लगाएको छ भने कालिकोटको खाँडाचक्र नगरपालिका–११ मा निषेधाज्ञा छ । कालिकोटमा ५ जना व्यक्ति संक्रमण देखिँदा फैलिनसक्ने भन्दै निषेधाज्ञाको आदेश जारी गरिएको छ । मंगलबार साँझसम्ममा चितवनमा पनि सक्रिय संक्रमित संख्या ५ सय पुगिसकेको छ, तर प्रशासनले कुनै आदेश जारी गरिसकेको छैन ।
जिल्लामा संक्रमित बढेपनि सरकारले कोरोनाको सुनामी आएको भारतसँग जोडिएको सीमानाका बन्द गरेको छैन । बंगलादेशले भारतसँगको सीमानाका बन्द गरिसकेको अवस्थामा नेपालले भने अहिले पनि सहज रुपमा खुल्ला राखेको छ । चैत्र ३ गतेबाट गौरिफन्टा नाकामा एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको थियो ।
हालसम्म उक्त नाकाबाट मात्रै नेपाल भित्रिएका एक हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । गौरीफन्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार ४० दिनमा एक हजार २०९ संक्रमित भारतबाट नेपाल भित्रिएका छन् । गौरीफन्टा नाकाहुँदै २६ हजार ३०५ जना नेपाली भित्रिएका छन् । तीमध्ये १४ हजार १ सय ५२ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ ।
परीक्षण नै नगरी सोझै घर पुग्ने नागरिक पनि धेरै रहेका छन् । जसका कारण कतिपय संक्रमितहरु अझै पनि गाउँघरमा घुमिरहेको हुनसक्ने जनस्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् । उनिहरुले सरकारले लकडाउन भन्दा पनि सीमानाका बन्द गर्नेतर्फ ध्यान दिनुपर्ने बताउछन् ।विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारतबाट आउनेको संख्या अत्याधिक रहेको छ ।
दिनहुँ कोरोनाका बिरामी बढेका छन्, उनीहरूको अवस्था दिनदिनै गम्भीर हुँदै गएको छ । कतिले ज्यान गुमाएका छन् । तर गम्भीर संक्रमितको उपचारका लागि अस्पतालमा चाहिने सुविधा भने अभाव देखिएको छ । अस्पतालमा बेड नपाउने समस्या चरम भएर गएको छ । अक्सिजन पर्याप्त मात्रामा भएपनि सिलिन्डर नहुँदा समस्या आउने सक्ने अस्पतालहरुले चेतावनी दिएका छन् ।
अक्सिजनको खपत र उत्पादन कति ?
नेपाल अक्सिजन उत्पादक संघका अनुसार अहिले देशभर २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । काठमाडौं उपत्यकामा मात्रै आठवटा प्लान्ट सञ्चालित छन् । नेपालमा उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गरेको संघको तथ्यांक छ । सरकारले तत्कालका लागि उद्योगहरुलाई अक्सिजन नलिन निर्देशन दिईसकेको छ ।
जसका कारण उत्पादन हुने सबै अक्सिजन विरामीले दिन सकिन्छ । एउटा प्लान्टबाट दैनिक ५०० वटा ४७ लिटर क्षमताका सिलिन्डरमा ग्यास भर्न सकिने जनाइएको छ । काठमाडौंमा केही सरकारी र अधिकांश निजी अस्पतालहरुले आफ्नै प्लान्टमार्फत अक्सिजनको व्यवस्था गरिरहेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको अक्सिजन प्लान्टले अहिले दैनिक ६० जनाको हाराहारीमा कोभिड–१९ संक्रमितलाई अक्सिजन पुगिरहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए ।
कोभिड अस्पतालहरुमा अहिले दैनिक अक्सिजनको माग साबिकभन्दा दोब्बरले बढेको छ । बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित शंकर अक्सिजन ग्यास प्रालिका सञ्चालक शंकरलाल अग्रवाल भन्छन्, ‘अक्सिजनको माग कोभिड अस्पतालहरुमा दोब्बर नै बढेको छ । तर, अन्य अस्पतालमा भने घटेको छ । हामीले एउटै सप्लायर्सबाट दैनिक ४०० को हाराहारीमा अक्सिजन सिलिन्डर सप्लाइ गरिरहेका छौँ ।’
ग्यास पर्याप्त उत्पादन भए पनि सिलिन्डर अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सिलिन्डर उत्पादक मुलुकहरुबाट सिलिन्डर ल्याउन कूटनीतिक प्रयास भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । अहिले भएका प्लान्टलाई पूर्ण क्षमतामा चलाएको अवस्थामा अस्पतालमा अक्सिजन अभाव नहुने बताइएको ।
अक्सिजन सिलिन्डरको अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै ५० हजार सिलिन्डर ल्याउने निर्णय सरकारले गरेको छ । त्यसमध्ये तत्काल ‘फास्ट ट्रयाक’ विधिबाट २० हजार सिलिन्डर ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरेर स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया