काठमाडौँ । विपक्षी दलहरू रास्वपा र राप्रपाका सांसदहरूको अवरोधका बीच जबरजस्ती सदन चलाएपछि सभामुख देवराज घिमिरेको चर्को आलोचना भएको छ । सभामुख घिमिरेले आइतबार रास्वपाको नाराबाजी र वेल घेराउका बाबजुद बजेटमाथि छलफल सुरु गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै १३ जेठदेखि आन्दोलनरत विपक्षी दलहरूमध्ये प्रमुख विपक्षी माओवादी केन्द्र सत्तासँग २ बुँदे सहमति गर्दै ब्याक भएपछि रास्वपा र राप्रपा भने विरोध जारी राख्दै आएका छन् ।
सदनको बैठकमा कुनै एक जना मात्रै सासंद उठेर विरोध जनाउँदा पनि बैठक स्थगन गर्ने संसदीय अभ्यास तथा मान्यता कुल्चिँदै संख्याको बलमा सदनको कारबाही अघि बढाइएको हो । विपक्षी सांसदहरूले तटस्थ रहनुपर्ने सभामुख सत्ताको आदेशपालक बनेको आरोप लगाएका छन् ।
बैठकको आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आन्दोलन भइरहँदा बैठक सञ्चालन गर्नु दादागिरी भएको भन्दै सदन अघि नबढाउन आग्रह गरे । अर्थमन्त्री विष्णु पौडेलले सम्बोधन गरिरहेका बेला नेकपा एसका सांसद राजेन्द्र पाण्डेले पनि नियमापत्ति गर्दै अवरोध र नाराबाजीबीच बैठक चलाउनु ठिक नभएको भन्दै स्थगित गर्न माग गरे ।
आमजनता पार्टीका अध्यक्ष प्रभु साहले कुनै अमुक पार्टीका सांसद उठ्दा सदन अवरुद्ध हुने तर चौथो र पाँचौँ ठुला दलको अवरोधका बीच पेलेर सदन चलाएकोमा आक्रोश व्यक्त गरे । सभामुखको भूमिका तटस्थ र साझा हुन नसकेको बताएका उनलाई घिमिरेले विषय केन्द्रित हुन सचेत गराएका थिए । रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समय पाए पनि बोलेनन् ।
‘रास्वपाले नैतिकता सिकाउन मिल्दैन’
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कारागारमा रहेका रवि लामिछानेले अहिलेसम्म पार्टी सभापति र संसदीय दलको नेता नछाडेको भन्दै सो दलका नेताहरूले अरूलाई नैतिकता सिकाउने नैतिकता नभएको बताए । कांग्रेस सांसद नागिना यादवले काण्डैकाण्डले भरिएका ‘गह्नाउने व्यक्ति’को नेतृत्वमा बस्ने सांसदहरूले नैतिकताको पाठ कसलाई पढाउन खोजेको ? भन्दै प्रश्न गरिन् ।
माओवादीको ‘अस्वाभाविक’ भूमिका
यता, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको भूमिका भने ‘अस्वाभाविक’ देखिएको छ । बिहीबारसम्म एउटै मागमा आन्दोलनरत माओवादीले सत्तासँग सहमति गरेसँगै रास्वपालाई पनि आफूहरूबाट संसदीय अभ्यास सिक्न भनेको हो । माओवादी सांसद वर्षमान पुनले सत्तापक्षकै सांसदजसरी आफूहरूले उठाएको विषय सम्बोधन भइसकेको भन्दै त्यसलाई आत्मसात् गर्दै बजेटमाथिको छलफलमा भाग लिन रास्वपालाई आग्रह गरे । नेता अग्नि सापकोटाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने र लडाकू शिविर घोटालाको फाइल खोल्ने तयारी भएपछि सदन खोल्न माओवादी तयार भएको हल्लाका बीच माओवादीले आफ्ना माग सम्बोधन भइसकेको बताएको हो ।
प्रतिक्रिया